दमकः भुटानी रिकन्सिलेसन कमिटीले भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसँग माग गरेको छ । कमिटीले पूर्वी झापा र मोरङका दुई शिविरमा बस्दै आएका शरणार्थीलाई स्वदेश फिर्ता गरिदिन माग गरेको हो ।

शरणार्थीको स्वदेश फिर्ती मुद्दा भुटानी शरणार्थीको मात्र नभएको कमिटीका अध्यक्ष कृष्णवीर तामाङले बताए । अपिलमा सुरक्षित स्वदेश फिर्ती सँगैसँगै उचित क्षतिपूर्ति तथा पुनर्वासको सुविधा, नागरिकताको पुनर्बहाली र समग्र क्षमादान मागलाई समेत जोडदार उठाइदिन सरकारसँग माग गरिएको उल्लेख छ ।

कमिटीले अपिलमा तेस्रो मुलुक पुनर्वासपछि शिविरमा बाँकी रहेका शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराए नेपालका लागि नै आत्मघाती हुने भन्दै त्यसो नगर्न भनेको छ । कमिटीले दातृ संस्थाले दिँदै आएको राहत सामग्री बन्द गर्ने घोषणा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राहत सामग्री कटौती नगर्न अनुरोध गरेको छ ।