इलामः मेची अञ्चलका ४ जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना हुने भएको छ ।

पूरै अञ्चललाई नै पर्यटकीय गन्तव्यका रूपमा बिस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले जनाएको छ ।

आयोजकका अनुसार सो मेला १२ दिनसम्म चल्ने छ । महोत्सवमा १ सय ५० व्यावसायिक स्टल छन् । चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ । ५० हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा अनुमानित रु ५० लाख खर्च हुने जनाइएको छ ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति महोत्सवको प्रवद्र्धकको रूपमा रहेको बताइएको छ ।