गाईघाटः सभामुख कृष्णबहादुर महराले नेपालको सङ्घीयता अन्य देशको भन्दा फरक र मौलिक रहेको बताएका छन् ।

उदयपुरको गाईघाटमा आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाति र बहुधार्मिक देश हुनाले मौलिकता रहेको बताए । जनप्रतिनिधिले सङ्घीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नु भन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र बोल्नुपर्ने उनले बताए ।

सबै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेको अधिकार मात्र आफ्नो अधिकार हो भनेर बुझ्न समेत उपस्थित जनप्रतिनिधिलाई उनले आग्रह गरे । कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र अधिवक्ता रामबहादुर थापाले नेपालको वर्तमान सङ्घीयता र सबै तहको अधिकारको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधि उपस्थित थिए ।