इटहरीः मङ्गलबार एक कार्यक्रममा इलामको माङ्सेबुङ पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ उद्घोष गरे, ‘अब प्रदेशले महिला मन्त्री चाँडै पाउँछ ।’ २०७४ फागुन ३ गते बनेको प्रदेश १ को मन्त्रिपरिषद महिलाविहीन भएको आरोप आएको ९ महिनापछि मुख्यमन्त्रीले इलाम पुगेर महिला मन्त्री थप्ने सङ्केत गरेका छन् ।
मुख्यमन्त्रीले महिला मन्त्री चाँडै थपिने सङ्केत गरेपछि अहिले कोको महिला मन्त्री बन्लान् भन्ने अनुमान शुरु भएको छ । कुनै एक नाम फाइनल नभए पनि हाल ५ जनाको नाम चर्चामा छ । मुख्यमन्त्री स्रोतका अनुसार यसरी मन्त्री बन्ने सम्भावना बोकेका महिला प्रदेश सांसदहरूमा प्रत्यक्ष चुनाव जितेकादेखि समानुपातिक सम्मका सांसदहरू चर्चामा छन् ।
महिला मन्त्री बन्ने सम्भावनामा उदयपुरकी सांसद कला घलेदेखि इलामकी सांसद खिनु लिम्बू छन् । उनीहरू दुवै प्रत्यक्ष निर्वाचित महिला सांसदहरू हुन् ।
घलेले मुख्यमन्त्री चुन्ने तत्कालीन एमालेको चुनावमा शेरधन राईलाई सहयोग गरेको ‘गुन’ तिर्न पनि उनलाई मुख्यमन्त्रीले मन्त्री नियुक्ति गर्न सक्ने सम्भावना रहेको मुख्यमन्त्री निकट एक नेकपाका प्रदेश नेता बताउँछन् । नाम सार्वजनिक नगर्ने शर्तमा उनी भन्छन्, ‘मुख्यमन्त्रीले संसदीय दलमा चुनाव जितेर आउनुमा कला घलेको महत्वपूर्ण योगदान भएकाले उहाँले मन्त्री बन्ने आधार बलियो छ ।’
यस्तै, प्रदेश मन्त्रिमण्डलमा समावेश हुने चर्चामा रहेका अन्य महिला सांसदहरूमा सुनसरीकी उमिता बराइली र खोटाङकी उषाकला राई छन् । धनकुटाकी कुसुमकुमारी श्रेष्ठ पनि महिला मन्त्री बन्ने सम्भावना भएकी महिला सांसदको रूपमा नेकपा वृत्तमा चर्चामा छिन् ।