धनकुटा: विभिन्न रोग र कीराका कारण अमिलो जातको फलफूलमा बर्सेनी समस्या बढ्दो छ । यही समस्याको अध्ययन तथा अन्ुसन्धान गर्ने नेपालकै एकमात्र राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्ले भने आफैँ थलिएको छ । कर्मचारी अभाव र काज सरुवाका कारण सो कार्यालय समस्यामा परेको हो ।

अमिलो जातका फलफूलको क्षेत्रमा काम गर्ने नेपालकै एक मात्र कार्यालय कृषि वैज्ञानिक र प्राविधिक धमाधम काजमा अन्यत्र गएपछि समस्या थपिएको छ । मुख्य वैज्ञानिक सहित ८ जना वैज्ञानिकको दरबन्दी रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा हाल ३ जना वैज्ञानिक मात्रै कार्यरत छन् । मुख्य वैज्ञानिकको दरबन्दी रिक्त हुँदा वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । माटो विज्ञको रूपमा वैज्ञानिक शुक्रराज श्रेष्ठ शुरुदेखि नै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरामा काज सरुवामा छन् ।

pari patle dhankuta 4

त्यस्तै, बाली रोग विज्ञानमा २ जना वैज्ञानिकको दरबन्दी भए पनि हाल १ जना मात्रै कार्यरत छन् । कीट विज्ञानको दरबन्दी पनि रिक्त छ । नयाँ जातको बिरुवा विकास गर्ने लक्ष्यसहित स्थापना भएको फलफूल प्रजनन् प्रयोगशालामा अहिलेसम्म पदपूर्ति नै भएको छैन । फलफूल विज्ञमा २ जनाको दरबन्दी रहे पनि एक मात्र कार्यरत छन् । प्राविधिक अधिकृतमा ५ जनामध्ये पाँचै जनाको कोटा खाली छ । ७ जना प्राविधिकको दरबन्दीमा १ जना मात्रै कार्यरत छन् । १३ जना प्राविधिक सहयोगीको दरबन्दीमा हाल ७ जना मात्रै कार्यरत छन्् । वैज्ञानिक तथा प्राविधिक अभावका कारण किसानलाई सेवा समेत दिन नसकिएको कार्यालयका प्रमुख वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठ बताउँछन् ।

अमिलो जातका फलफूल अन्तर्गत पर्ने सुन्तला, जुनार, कागतीलगायतका प्रजातिको नयाँ जात, रोग, कीरा, माटो परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको सो केन्द्रमा हाल वैज्ञानिक र प्राविधिक अभावका कारण कुनै पनि काम अघि बढ्न सकेका छैनन् । त्यस्तै, रोग, कीरा, माटो, नयाँ बिरुवा परीक्षण र उत्पादनका लागि स्थापना गरिएका ५ वटा ल्याबमध्ये हाल टिस्युकल्चर, किट विज्ञ, माटो परीक्षण र रोग परीक्षण लगायतका ४ वटा ल्याब वैज्ञानिक र प्राविधिक अभावका कारण बन्द रहेका छन् । जनशक्ति अभावका कारण अनुसन्धान पूर्ण रूपमा प्रभावित भएको कार्यालयका वैज्ञानिक रोशन पक्का बताउँछन् ।paripatle dhankuta 2

हाल नेपालका २२ वटा पहाडी जिल्लाको २५ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा अमिलो जातको फलफूलको खेती हुने गरेको छ । तर रोगकीराको प्रकोप तथा नयाँ र उन्नत प्रजातिको विकास हुन नसक्दा उत्पादन भने बर्सेनी घट्दो छ । सन् २००९मा ११ दशमलव ३ मेट्रिकटन प्रतिहेक्टर उत्पादन रहेकोमा हाल सो घटेर ८ दशमलव ८ प्रति हेक्टर पुगेको छ । करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको सो कार्यालयको स्थापना २०१८ सालमा स्थापना भएको हो । तर कर्मचारी अभाव तथा भएका कर्मचारी पनि पहुँचको भरमा सुगम क्षेत्रमा काज सरुवाका कारण यो कार्यालय थलिएको छ ।