इटहरीः प्रदेश १ का दुई जिल्ला सुनसरी र उदयपुरले विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न १० बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेको अन्तरक्रियाको समापनमा आज प्रदेश गृह मन्त्रालयका सचिव गोपालप्रसाद पराजुली थिए ।
सुनसरी र उदयपुरका स्थानीय सरकार तथा जिल्ला समन्वय समितिका प्रतिनिधि लगायतका अन्य विज्ञसमेत सहभागी थिए ।
आज इटहरीमा भएको विपद् सचेतना तथा अभिमुखीकरण विषयक प्रदेशस्तरीय कार्यक्रममा विभिन्न सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका छन्ः
१. उदयपुर र सुनसरीमा विपत व्यवस्थापन गर्न प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग समन्वय गरेर जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया, अभ्यास र अनुभव आदानप्रदान गर्ने ।
२. विपत व्यवस्थापनको लागि आवश्यक कानुनको निर्माण, कार्यविधि र मापदण्ड बनाउन सहकार्य गर्ने,
३. विपद्को पूर्व तयारी र प्रतिकार्य तथा पुनस्र्थापना र राहतसम्बन्धी यस क्षेत्रका काममा जवाफदेहिता र उत्तरदायित्वको बोध गरेर आ–आफ्नो भूमिका निर्वाह गर्ने,
४. अबका हरेक विकास निर्माणका आयोजनामा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरण प्रभाव मूल्याङ्कन गरेर विपद् जोखिम प्रभाव मूल्याङ्कन गर्ने परिपाटीको शुरुवात गर्ने ।
५. स्थानीय स्तरमा रहेका पानीका स्रोतको संरक्षणका लागि एकआपसमा सहकार्य गर्ने ।
६. अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनामा क्रमिक रूपमा सुधार ल्याउने,
७. तराई÷मधेसमा हुने बाढी र शीतलहरको समस्या समाधान गर्न पीडित समुदायको लागि न्यून लागतमा निर्माण हुने सुरक्षित घर बनाउन सरकारी र गैरसरकारी स्रोत खोज्ने,
८. प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् जोखिम न्यूनीकरणको रणनीति तयार गर्ने र यसमा सबैको सहयोग रहने ।
९. प्रदेश सरकारको आपतकालीन कार्यसञ्चालन केन्द्रमा २ वटै जिल्लाका जिल्ला आपतकालीन सञ्चालन केन्द्र र स्थानीय तहमा गठन हुने स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रबीच समन्वय र सहकार्य गर्ने ।
१०. सबै स्थानीय तहले आ–आफ्नो कार्यलय परिसरभित्र स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना र सञ्चालन गर्न आवश्यक पर्ने भौतिक संरचना र जनशक्ति व्यवस्थापन गरी सोको जानकारी जिल्ला विपत व्यवस्थापन समिति र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गराउने र सोको सञ्चालनका लागि मन्त्रालयबाट आवश्यक समन्वय, सहकार्य र सहयोग उपलब्ध गराउने ।