विराटनगरः नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर डिपोमा ढुवानी मापदण्ड विपरीत कम डिजेल ल्याउने ढुवानीकर्ताको नाममा रहेका १२ वटा ट्याङ्करको उत्पादन ढुवानी माग (पिडिओ) रोक्का गरिएको छ ।

ढुवानीकर्ता शुकदेव सिंहको नाममा रहेको को १ ख ५९६५ नम्बरको ट्याङ्करसहित अन्य ११ वटाको पिडिओ रोक्का गरिएको हो । नेपाल आयल निगमले भारतको बरौनीसँग इन्धन माग गर्नका लागि पठाउने कागजात (पिडिओ) रोकिएपछि ती ट्याङ्करहरूले अब कुनै पनि ढुवानीको काम गर्न पाउने छैनन् ।

गत मंसिर ६ गते चालक सर्वेन्द्र स्वर्णकारले निगममा अनलोडका लागि भित्र्याएको ट्याङ्करमा डिप लिने क्रममा २ हजार ४ सय ८४ लिटर कम डिजेल फेला परेको थियो ।

सो घटना छानबिनका लागि नेपाल आयल निगमको केन्द्रीय कार्यालयद्वारा गठित समितिको प्रतिवेदन अझैसम्म बाहिर आएको छैन । त्यही घटनाको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरिरहेको छ । सिआईबीले ट्याङ्करका चालक तथा सहयोगीसहित ढुवानीकर्तासँग बयान लिइसकेको छ । ट्याङ्करको प्राविधिक अध्ययनको काम समेत गरेको छ ।

घटनाका सम्बन्धमा विराटनगरस्थित निगमका प्रादेशिक कार्यालय प्रमुख दिनेशकुमार यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै ढुवानीकर्तामार्फत् घटी परिमाणको रकम असुल गरी तत्काललाई ट्याङ्करको पिडिओ रोक्का गरिएको जानकारी दिए ।

कम परिमाण देखिएको २ हजार ४ सय ८४ लिटर डिजेलको दोब्बर मूल्य हुने गरी निगमले ४ लाख ९३ हजार ९ सय १८ रुपैयाँ ढुवानीकर्तामार्फत् असुल गरेको यादवले जनाए । ढुवानीकर्ता सिंहले मंसिर ११ गतेकै मितिमा निगमले कारवाहीको रूपमा असुल गर्नुपर्ने रकम बैंक खातामा दाखिला गरिसकेको प्रमुख यादवले बताए ।

भारतको बरौनीबाट डिजेल भरेर नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर आएको ट्याङ्करबाट इन्धन हराएको विषयमा छानबिन समितिले बुझाउनुपर्ने प्रतिवेदन सार्वजनिक भएको छैन ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई भारत गएका कारण प्रतिवेदन सार्वजनिक हुन नपाएको हो । छानबिन समितिको प्रतिवेदन नआउँदै सिआईबीको अनुसन्धान प्रक्रियामा रहेकाले घटनामा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पनि ढिलो भएको प्रवक्ता गोइतको भनाइ छ ।

प्रादेशिक कार्यालय प्रमुख यादवले भारतीय आयल कर्पोरेशनको बरौनी डिपोमा एउटा चाबी र नेपाल आयल निगमको विराटनगर कार्यालयमा अर्को चाबी रहने ट्याङ्करबाट डिजेल हराएपछि डिपो भित्रै नियमनको नयाँ विधिको शुरुवात गर्ने तयारी गरिएको बताए । उनका अनुसार विराटनगर डिपोमा अब क्यालिब्रेसन टावर जडान गरिने भएको छ । ‘पु्रभिङ ट्याङ्क’ जडानपछि डिपोमा अनलोड गर्ने ट्याङ्कर र डिपोबाट डिलरसम्म जानुपर्ने ट्याङ्करको परीक्षणमा सहजता आउने छ ।

नेपाल आयल निगम केन्द्रीय कार्यालयले उप–निर्देशक अन्जना पोखरेलको संयोजकत्वमा इन्जिनियर प्रमेश पुडासैनी र सहायक प्रबन्धक राजकुमार केसी सदस्य रहेको ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले समेत घटनासँग जोडिएका विषयको छानबिन गरेको थियो ।