इलाम: विद्युत प्रशारण लाइनमा प्रयोग भएका काठका खम्बाहरू जीर्ण बन्दै गए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा इलाममा कुनै पनि बेला दुर्घटना हुने खतरा बढेको छ ।

नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रवीनबाबु घिमिरेका अनुसार काठका विद्युतीय खम्बा मक्किएको तर फेर्न पर्याप्त बजेट नहुँदा दुर्घटनाको सम्भावना बढेको हो । उनका अनुसार इलाममा मात्र ९ हजार काठका खम्बा जीर्ण अवस्थामा छन् ।

४० हजार घरपरिवारले विद्युतीय सेवा लिँदै आएको इलाममा विद्युत् प्रशारण लाइन विस्तार गर्दा काठका खम्बा प्रयोग गरिएको थियो । ३० हजारभन्दा बढी काठका विद्युतीय खम्बामध्ये ९ हजार अत्यधिक जीर्ण रहेकाले फेर्नका लागि केन्द्रीय कार्यालयमा माग गरेको घिमिरेले जनाए ।

खम्बा फेर्नका लागि खरीद गर्ने अख्तियारी नभएको र बजेटको शीर्षक पनि नभएकाले केन्द्रीय कार्यालयबाट पठाएका स्टिल खम्बा प्रयोग गरी बढी खतरा भएका स्थानमा फेर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

इलामका १० वटै स्थानीय तहमा हजारौँ काठका खम्बा प्रयोग गरिएको र अहिले दिनहँुजसो खम्बा फेर्ने माग भए पनि पर्याप्त रूपमा फेर्न नसकिएको प्राधिकरण प्रमुख घिमिरेले बताए । प्राधिकरणले अहिले राजमार्ग, व्यापारिक केन्द्र र बाक्लो बस्ती भएको स्थानमा काठका विद्युतीय खम्बा फेर्ने काम गरिरहेको छ ।

प्राधिकरण इलाम शाखाले आर्थिक वर्ष २०७४÷७५ मा ९ सय जीर्ण विद्युतीय खम्बा फेरेको छ । सबै क्षेत्रमा काठका खम्बा जीर्ण रहेकाले प्राथमिकताका आधारमा फेर्ने काम भइरहेको प्राधिकरणको भनाइ छ । चालु आर्थिक वर्षको ५ महिनामा १ हजार १ सय ५० वटा काठका खम्बा रहेको स्थानमा स्टिल खम्बा राखिएको छ । प्राधिकरणका अनुसार मेची राजमार्ग क्षेत्रमा जीर्ण रहेका काठका खम्बा ९९ प्रतिशत फेरिएको र अब बजार क्षेत्र तथा अधिक बस्ती भएका क्षेत्रमा फेर्ने कामलाई प्राथमिकता दिइने छ ।

विद्युत् प्राधिकरणसँगै तत्कालीन अवस्थामा स्थानीय निकाय, समुदाय र सांसद् विकास कोषबाट भएको विद्युत् बिस्तारमा काठकै खम्बालाई प्राथमिकता दिइएकाले अहिले जता गए पनि खतरा मात्रै देखिने गरेको घिमिरेको भनाइ छ । ‘चाँडो विद्युत् बाल्ने चाहनाले अहिले जताततै जोखिमको अवस्था छ’, घिमिरेले भने, ‘हामीले स्थानीय तहलाई विद्युत्को नयाँ विस्तारमा मात्रै होइन पुराना खम्बा फेर्न पनि बजेट विनियोजन गर्न अनुरोध गरेका छौँ ।’ कम्तीमा पनि नयाँ विस्तारको योजना ल्याउँदा बजेटको २५ प्रतिशत पुराना खम्बा फेर्न छुट्याउन अनुरोध गरेको उनले बताए ।

काठका खम्बाले दुर्घटना बढ्ने अवस्था आएपछि प्राधिकरणले ३ वर्ष अघि इलाममा विद्युत् विस्तार गर्दा स्टिल खम्बा मात्रै प्रयोग गर्ने निर्णय गरेको थियो । नयाँ लाइन बिस्तार गर्दा स्टिल खम्बाको प्रयोगलाई बढाइए पनि पुराना काठका हजारौँ खम्बा फेर्न स्थानीय तहले पनि तदारुकता देखाउनुपर्ने प्राधिकरणको भनाइ छ ।