विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

स्कुलका बालबालिकामा देखिने दृष्टि दोष निवारणका लागि नेपाल नेत्र ज्योति सङ्घले शुरु गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘आँखा परीक्षणको क्षेत्रमा प्रदेशको अस्थायी राजधानी विराटनगर आगाडि रहेको छ’, कार्यक्रममा बोल्दै राईले भने, ‘अन्य रोगको उपचारका लागि धेरै नेपाली भारतलगायतका देशमा जाने गरे पनि आँखा उपचारमा भारतीय नै विराटनगरमा आउने गरेका छन् ।’

उनका अनुसार विराटनगरको यही विशेषता रहेकाले यो क्षेत्रलाई ‘आई केयर टुरिजम’को रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको हो । बुधबारदेखि मोरङ र सुनसरीका स्कुलका विद्यार्थीको निःशुल्क आँखा जाँच शुरु भएकोे हो । सो कार्यक्रम अन्तर्गत २ लाख ८० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरिने जनाइएको छ । आँखा जाँचका साथै विद्यार्थीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै ६ हजार थान चस्मा वितरण गरिने जनाइएको छ ।

eye care udghatan