विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकास र समृद्धिका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘सिद्धान्त र नीति घोकेर मात्र विकास हँुदैन । यसका लागि स्पष्ट खाका र ढाँचा बनाउनुपर्छ,’ मुख्यमन्त्री राईले भने, ‘जनताका भावना र चाहनालाई केन्द्रबिन्दुमा राखेर योजना बनाउन आयोगलाई सुझाव दिन्छु ।’

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जनतालाई आत्मनिर्भर बनाउने योजना भएमा मात्र प्रदेशमा विकासको लहर आउने बताए । प्रदेशका मुख्यसचिव केदार न्यौपानेले प्रदेशमा उपलब्ध साधन र स्रोतको उच्चतम प्रयोग भएमा जनताका आकाङ्क्षा पूरा हुने बताए ।

कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो एवं प्रदेश मन्त्रालयका सचिव र कर्मचारी उपस्थित थिए ।