विराटनगरः जापानमा कार्यरत ओखलढुङ्गाका कृष्णकुमार कार्कीले निजी खर्चमा १० घर बनाई बाढीपीडितलाई दिने भएका छन् । विराटनगरमा पत्रकार सम्मलेनको आयोजना गरी उनले सो जानकारी गराएका हुन् ।

गत वर्षको बाढीबाट विस्थापित मोरङको रतुवामाई–३ महादेवा वर्ती टोलका १० परिवारलाई नयाँ घर बनाइदिने उनले बताए । बाढीबाट सो टोलका २३ परिवार विस्थापित भएका थिए । तीेमध्ये अतिगरिब, विपन्न र अशक्त १० परिवारलाई नयाँ घर बनाएर आफ्नो जन्मदिन मनाउने उनले बताए ।

बाढीबाट विस्थापित भएका अतिगरिब, विपन्न तथा अशक्तहरूको घर निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको र सो जग्गामा समाजसेवी कार्कीले २० लाखको निजी खर्चमा घर बनाउने भएका हुन् ।

पुसको २० गतेभित्रमा निर्माण सम्पन्न गरी उनीहरूलाई घर हस्तान्तरण गर्ने योजना रहेको इञ्जिनियर चित्रकुमार कार्कीले बताए ।