तेह्रथुम: लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरे । त्यतिबेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विवाह पछिका ३वर्षसम्म त उनीहरूको सम्बन्ध ठीकै थियोे ।
त्यसपछि शुरु भएको बेमेलले उनीहरूलाई सँगै बस्न नसक्ने अवस्थामा पु¥यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालतले २१ फागुन, ०७४ मा उनीहरूको सम्बन्धविच्छेदको फैसला ग¥यो । कलिलैमा बिहे गरेका २१ वर्षीया चन्द्रा र २३ वर्षीय मनकुमार अहिले अलग–अलग छन् ।

चन्द्राको जस्तै कथा छ, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २३ वर्षीया पासाङ शेर्पाको पनि । उनले पनि पढ्दै गर्दा १५ वर्षको उमेरमै तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–४ का नवीन शेर्पासँग ०६७ सालमा विवाह गरेकी थिइन् । तर, विवाह अघि गरेका वाचा बिहेपछि रहेनन् । अन्ततः उनीहरूको पनि २ फागुन, २०७४ मा जिल्ला अदालत तेह्रथुमबाटै सम्बन्धविच्छेदको फैसला भयो ।

धनकुटाकै महालक्ष्मी नगरपालिका–५ की बबिता बस्नेतले पनि १७ वर्षको उमेरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का युवराज बस्नेतसँग ०७२ सालमा बिहे गरिन् तर उनीहरूको पनि सम्बन्ध धेरै समयसम्म टिक्न सकेन । जिल्ला अदालतले १० माघ २०७४ मा उनीहरूको सम्बन्धविच्छेदको फैसला गरेको थियो ।

१८ देखि ३० वर्ष उमेरसमूहमा बढी सम्बन्ध विच्छेद
जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला अदालतमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको र यसरी मुद्दा गर्ने महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष छ ।

सामाजिक सञ्जालका कारण सानैमा बिहे

सम्बन्धविच्छेदका लागि दर्ता भएका मुद्दामा कानुनले बाल विवाह ठहर नगरे पनि सम्बन्धविच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा बिहे गर्ने, भागेर प्रेम विवाह गर्ने र सामाजिक सञ्जालमार्फत चिनजान भएर लोभ लालचमा बिहे गर्ने बढी भएको पाइएको छ । अदालतको तथ्याङ्कमा उल्लेख भएअनुसार आव २०७३÷०७४ मा १९ जोडीको सम्बन्धविच्छेद भएको थियो ।

जिल्लामा आव २०७२÷०७३ मा ३६ जनाले सम्बन्धविच्छेद गराएका थिए भने आव २०७१÷०७२ मा २९ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका थिए । जिल्ला अदालतमा पछिल्ला वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा नै सम्बन्धविच्छेदका रहेका छन् ।