विराटनगरः मालवस्तु लिनका लागि भारततर्फ फर्कने खाली ट्रक र ट्याङ्कर एकीकृत जाँचचौकी (आइसिपी) को बाटो हुँदै पठाउने काम शुरु भएको छ । बुधनगरस्थित नेपाल र भारतको सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत जाँचचौकीको बाटो हुँदै मङ्गलबारदेखि खाली ट्रक र ट्याङ्कर पठाउने काम शुरु गरिएको हो ।

नेपालतर्फको भू–भागमा जाँचचौकीको निर्माणाधीन चरणमै रहेको बेला दुवै देशको आईसिपीलाई सडकले जोडेपछि ट्रक र ट्याङ्कर फर्काउने अनुमति विदेश मन्त्रालयले दिइएको थियो । दुवैतर्फको संरचना निर्माण नहुँदासम्म भन्सार राजस्वको काम भने हुँदैन ।
नेपालतर्फको आईसिपी प्रवेशद्वारमा ट्रक र ट्याङ्करको तथ्याङ्क राखिने छ । विराटनगर भन्सार कार्यालयका नित्तिम प्रमुख एवं भन्सार अधिकृत मणिराम पौड्यालका अनुसार खाली ट्रकहरूमा अवैध रूपमा निकासी हुन सक्ने मालवस्तुको जाँचपछि प्रवेशद्वार खोलिने छ । नेपालतर्फको आईसिपीभित्रको बाटो हुँदै भारतमा निर्माणसम्पन्न भइसकेको आईसिपीमार्फत् ट्रक र ट्याङकर निस्कनेछन् ।

भन्सार बिन्दुबाट मालवस्तु लिएर नेपाल प्रवेश गरेका ट्रक तथा ट्याङकर ७२ घण्टाको अवधिभरमा त्यो बाटो भएर फर्कन पाउँछन् । खाली ट्रक र ट्याङ्करलाई साँझ ७ बजे खुला गरिएको उक्त बाटो बिहान ७ बजेपछि बन्द गरिने बताइएको छ । विराटनगर भन्सार कार्यालयले निर्माणाधीन आईसिपीको प्रवेशद्वारमा तथ्याङ्क राख्नका लागि व्यवस्थापन गरिसकेको अधिकृत पौड्यालले जनाए ।

नेपालतर्फ १ सय २५ बिघा क्षेत्रफलमा निर्माणाधीन चरणमै रहेको आईसिपीको काम सम्पन्न गर्नका लागि ३ महिनाको अवधी बाँकी छ । भन्सार अधिकृत पौड्यालका अनुसार पछिल्लो समय निर्माण कम्पनीको म्याद थप गरेर मार्चसम्म पु¥याइएको छ । अहिले आईसिपीमा जाँचपास, प्रशासकीय र सुरक्षाका लागि आवश्यक संरचना र माटो पुर्ने काम भइरहेको छ ।

२२ महिना अघि निर्माण शुरु भएको आईसिपी निर्माणको जिम्मेवारी भारतीय कम्पनी दिनेशचन्द्र एण्ड आर. अग्रवाल इन्फा डटकम अहमवादलाई भारतीय सरकारले दिएको छ । कम्पनीका इन्जिनियर अवधेशकुमार साहका अनुसार त्यहाँभित्रको भवन, घेराबेराको काम पहिलो चरण अन्तर्गत चलिरहेको छ । अब माटो पुर्ने र साजसज्जा तथा विद्युतका लागि आवश्यक पर्ने संरचना तयार गर्नुपर्ने काम बाँकी छ भने मालवस्तु लिएर प्रवेश गर्दा परीक्षणका लागि आवश्यक पर्ने संरचना र निकासका लागि आवश्यक पर्ने संरचना तयार गर्नुपर्ने काम बाँकी छ ।

अन्तर्राष्ट्रियस्तरको संयुक्त भन्सार जाँचचौकी निर्माणका लागि नेपाल र भारत सरकारबीच सन् २००५ मा सम्झौता भएको थियो । भारतीय भूमिमा तत्काल जग्गा अधिग्रहण भई निर्माण सम्पन्नपछि आईसिपी सञ्चालनमा आए पनि नेपालतर्फको काम अझै निर्माणाधीन चरणमै रहेको हो ।
भारतको विदेश मन्त्रालयले नेपालमा अनलोड गरेर फर्केका ट्रक र पेट्रोलियम पदार्थका ट्याङ्कर र लरीलाई आईसिपीको बाटो प्रयोग गर्न अनुमति दिएपछि विराटनगर भन्सार कार्यालयमार्फत् जाने ट्रक र ट्याङकरका लागि बाइपास रोडको रूपमा अहिले आईसिपीको बाटो प्रयोग हुने भएको हो । भन्सार कार्यालयले भने ठूला बुलेट र कन्टेनरलाई समेत निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ । खालि ट्रक र ट्याङ्करकै निकासी सहज हुँदा विराटनगर भन्सार आसपासको क्षेत्रमा धेरै सहज हुनेछ । नेपालबाट दैनिक फर्कने खालि ट्रकको सङ्ख्या २ सय र ट्याङ्कर ८० वटा रहेका छन् ।

नेपालतर्फको निर्माण प्रगति ६२ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै केही महिना लाग्ने देखिएको छ । जग्गा हस्तान्तरणको काम ढिलो भएका कारण सन् २०१४ सम्ममा निर्माण सकिनुपर्ने आईसिपी ४ वर्षमा पनि निर्माण भइसकेको छैन ।