विराटनगरः मोरङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न सडक योजनामा जम्मा १४ करोड ४० लाख ३२ हजार खर्च भएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयका अनुसार बडङ्गा–आमबारी– उर्लाबारी सडकमा ५ करोड १६ लाख ९८ हजार, रङ्गेली रोडको रामचोकबाट नहरको बाटो हँुदै सीमा सडकसम्मको बाटोमा १ करोड १६ लाख २३ हजार, तराई–मधेस सडक पूर्वाधार विशेष कार्यक्रममा ६ करोड ३३ लाख २१ हजार, स्थानीय सडक पुल निर्माणमा ४५ लाख ८६ हजार र रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसामा २० लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
उता, कोशी राजमार्गको तरहरा–भेडेटारमा १० लाख ३८ हजार, विराटनगर–सिङ्घिया–रङ्गेली–उर्लाबारी योजनामा १० लाख, कोशी राजमार्गको इटहरी–भेडेटार योजनामा १ लाख ३२ हजार, महेन्द्र राजमार्गको मावा–इटहरी–कोशी ब्यारेक योजनामा ५० लाख, घिनाघाट–विराटचोक सडकमा २० लाख, विराटनगर–रङ्गेली–उर्लाबारी सडकमा १६ लाख ७२ हजार र दुहबी–इनरुवा कप्तानगञ्ज सडकमा १० लाख खर्च भएको कार्यालयले जनाएको छ ।
डिभिजन कार्यालयले महेन्द्रराजमार्गको भन्टाबारी पुलमा रु २० लाख, कोशी कटानमा रु १० लाख, सेउती खोला पुलमा रु १० लाख र मोरङको धमना खोला पुलमा रु ४५ लाख ८५ हजार खर्च गरेको कार्यालयका इञ्जिनियर दुर्गा मण्डलले बताए । डिभिजनबाटै ८ करोड ७४ लाख लागतमा २०७६ पुस मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी गीताञ्जली कन्सट्रक्सनले लिएको सुनसरीको साहेबगञ्ज–सिमरिया सडकमा ३० प्रतिशत मात्र काम भएकोले भुक्तानी नदिएको कार्यालयले जनाएको छ ।
साथै, सुनसरीको साहेबगञ्जदेखि इनरुवा सडकको २० किलोमिटर र कप्तानगञ्ज–जनताचोक लौकही सडक निर्माण गर्न रमणभूमि जयब्रदर्शले सडक निर्माण गर्न ठेक्का लिए पनि काम शुरु नभएकाले ठेकेदारलाई ताकेता भइरहेको कार्यालयले जनाएको छ ।
इञ्जिनियर मण्डलका अनुसार विकास निर्माणका कतिपय योजना क्रमागत रहेको र योजनामा प्रगति भएबमोजिम निर्माण कम्पनीलाई भुक्तानी दिने काम भइरहेको छ । गुणस्तरमा कुनै पनि सम्झौता नगरिएको कार्यालयले जनाएको छ ।