इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको डिभिएम स्कुलले हडपेको जग्गामा निर्माण हुने जनता पार्कको आज शिलान्यास भएको छ । इटहरीका ज्येष्ठ नागरिक १ सय १ वर्षीय भानुभक्त लम्सालले धुपीका बिरुवा रोपेर जनतापार्कको शिलान्यास गरेका हुन् ।

३ बिघा जग्गामा ५० लाख बढीको खर्चमा ०७६ सालसम्ममा पार्क निर्माण हुने भएको छ । सो जग्गामा भ्यु टावर र धरहरासहितको आकर्षक पार्क बन्ने छ । शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सांसद सर्वध्वज साँवाले जनता पार्कको विरोध गर्नेहरू पछि गएर आफैँ खुइलिने बताए । उनले अहिलेको स्थानीय सरकार अधिकार सम्पन्न भएकाले सार्वजनिक महत्वका विषय र चासोका विषयहरूमा आफैँ निर्णय गर्न सक्ने बताए ।

साँवाले डिभिएम स्कुलको जग्गा पश्चिमतिर भए पनि पूर्वतिरको सार्वजनिक जग्गामा विद्यालय भवन बनाएर गल्ती गरेको बताए । सबै क्षेत्रलाई असर नगर्ने गरी मिलाएर अगाडि बढ्नुपर्ने बताए । उनले इटहरीका मेयरको सपना साकार पार्नु इटहरीवासीको सपना भएकाले मेयरको विकास गर्ने योजनाहरूमा सबैले साथ दिनुपर्नेमा जोड दिए । 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई पार्क उद्घाटन गर्न निम्ता दिए पनि काम विशेषले आउन नसकेको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बताए । शिलान्यास कार्यक्रममा आफ्ना धारणा राख्दै इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले क्रिकेट खेलमैदान अन्यत्र सार्ने भनी बुधबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको बताए । उनले त्यसका लागि जग्गा फेला परिसेकेको पनि बताए ।

मापदण्डमै क्रिकेट मैदान बनाएर खेलाडीलाई हस्तान्तरण गरिने उनले बताए । मैदान निर्माण नभएसम्म तत्कालका लागि हालको क्रिकेट मैदानमै क्रिकेटका खेलहरू सञ्चालन हुने उनले बताए । उनले इटहरी उपमहानगर सहमति, सहकार्य र संवाद गरी अघि बढ्न तयार रहेको बताए ।

विवादका विषयमा पार्टीभित्र बहस हुन्छः घिमिरे
जनता पार्क शिलान्यास कार्यक्रममा बोल्दै नेकपाका इटहरी अध्यक्ष रेवती घिमिरेले जनताको हितका लागि निर्माण हुन लागेको जनता पार्कको विषयमा अनेक खालका विवाद हुनु राम्रो नभएको बताए । उनले पार्टीभित्र र नगरपालिकाभित्र उपमेयरले विवाद झिकेको तर्फ सङ्केत गर्दै भने, ‘पवित्र कार्यमा विवाद झिक्नु राम्रो कुरा होइन, यसलाई मैले गम्भीर रूपमा लिएको छु । विवादका विषयमा पार्टीभित्र समेत गम्भीर तरिकाले बहस हुनेछ ।’

मङ्गलबार मात्रै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बजेटमा उल्लेख नभएको स्थानमा जनता पार्क बनाउने योजना मेयरले कहाँबाट ल्याए भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी थिइन् । एउटै पार्टीबाट निर्वाचित भएकी उनले त्यसरी अभिव्यक्ति दिएपछि जनता पार्क शिलान्यास कार्यक्रम विवादित बन्न पुगेको थियो । बुधबार बिहान एमालेबाट निर्वाचित वडाध्यक्षहरू र नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षहरूको बैठक समेत गौतमले बहिष्कार गरेकी थिइन् । जनताको हितका लागि प्रयोग हुने जनतापार्क निर्माणको विषयमा निर्णायक निर्णय गर्ने कार्यपालिकाको ३३ औं बैठक छाडेर गौतम काठमाडौंतर्फ लागेकी थिइन् । उनले गरेको असहयोगका विषयमा पार्टीभित्र र बाहिर गम्भीर रूपमा बहस शुरु भएको नेकपाका एक जिम्मेवार नेताले बताए ।

त्यसैगरी वडा नम्बर ५ का एमालेबाट निर्वाचित वडा अध्यक्ष कल्याणबहादुर कार्कीले बुधबारको कार्यपालिका बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेको विषय र वडा नम्बर ५ को सिङ्गो नेतृत्वले शिलान्यास कार्यक्रममा वडा नम्बर ५ बाट कोही पनि सहभागी नहुन उर्दी जारी गरेको विषयलाई पार्टीको माथिल्लो तहले गम्भीरतापूर्वक लिएको ती नेताको भनाइ छ ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि १ सय १ वर्षीय लम्साललाई कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद साँवा र मेयर चौधरीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

इटहरी उपमहानगरपालिकाका अनुसार ०७६ सालको बैशाख १ गतेभित्रमा पार्क उद्घाटन गरिनेछ । त्यसका लागि इञ्जिनियरसहितको प्राविधिक टोलीले डिपिआर तयार गरिसकेको बताइएको छ ।

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र बरालले पार्क निर्माणको विषयलाई लिएर झिकिएको विवाद सही नभएको बताए । उनले पार्क निर्माण भएपछि क्रिकेट पिच अन्यत्र सारिने बताए । कार्यक्रममा सबै वडाका वडाध्यक्ष, सङ्घ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

janata park silanyas itahari (2) 2 janata park silanyas itahari (3) 3