धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कलेजोसम्बन्धी रोगको उपचारमा सहजता हुने भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले कलेजो परीक्षणका लागि अति आवश्यक पर्ने उपकरण फाइब्रोस्क्यान मेसिन प्रतिष्ठानलाई उपलब्ध गराएपछि उपचारमा सहजता हुने भएको हो । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी कलेजो रोगको उपचारबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा जनाइएअनुसार यस पद्धतिमार्फत् उपचार गर्दा उपकरणको सहयोगले बायोप्सी नगरी नै सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक बिरामीको कलेजोमा भएको सङ्क्रमणबारे सहजै परीक्षण हुने भएको छ ।

यसअघि अल्ट्रासाउण्ड गरेर बायोप्सी गरेपछि मात्रै कलेजोको अनुमानित अवस्थाका आधारमा उपचार हुने गर्दथ्यो । तर, अब कलेजोको वास्तविक अवस्था अर्थात् फाब्रोसिस कति छ वा कलेजो कति कडा भएको छ भन्नेबारे एकिनका साथ उपचार हुने भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले कलेजोको उपचारमा यो महत्वपूर्ण उपलब्धि भएको बताए । उनले प्रतिष्ठान आफँैले यो उपकरण खरिद गर्न लागेको अवस्थामा जेनेभा युनिभर्सिटी अस्पतालले सहयोग गरेको हुनाले प्रतिष्ठानको करिब २ करोड रुपैयाँ बचत भएको बताए ।

ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागका प्रमुख डा. विक्रम प्रधानले हेपाटाइटिस बी र सी तथा मदिराका सेवनका कारण कलेजोमा घाउ भएको, चिल्लो पदार्थ तथा फाइब्रोसिस भएका बिरामीको उपचार पद्धति अत्यन्तै सहज हुन गएको बताए । अब कलेजो कुन अवस्थामा छ भन्नेसमेत स्पष्ट थाहा पाउन सक्ने भएकाले उपचार प्रभावकारी हुने उनको भनाइ थियो ।

जेनेभाबाट प्रतिष्ठान आएका डा. लउरेन्ट स्फरले दक्षिण एशियाकै उत्कृष्ट शैक्षिक संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिष्ठानका अनुसर यस अघि जोखिमपूर्ण ढङ्गले कलेजोको नमुना झिक्ने गरिएको थियो । कलेजो फुटेर रक्तस्राव भएको, एसिड खाएर खुम्चेको अन्ननली तथा मलद्वारको समेत हाल उपचार सहज भएको प्रतिष्ठानले जनाएको छ ।

dharan pgm (3) dharan pgm (1) 47378618_10213041933779436_8035028614107889664_o - Copy