इटहरीः आफ्नो वडाको कार्यक्रम अर्काे वडामा लगेको भन्दै इटहरी–५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले राजीनामा दिने तयारी गरेका छन् ।
वडा नम्बर ५ मा जनता पार्क निर्माणको लागि भनेर नगर सभाले छुट्याएको बजेट ९ नम्बर वडामा सारिएको भन्दै वडा नम्बर ५ का सम्पूर्ण जनप्रतिनिधिले राजीनामा दिने तयारी गरेको बताइएको छ ।
जनता पार्क निर्माणको लागि गरिएको पछिल्लो निर्णयप्रति आक्रोशित ५ नम्बरका जनप्रतिनिधिले यस्तो निर्णय गर्न लागेका हुन् ।
‘म पनि जनप्रतिनिधि हो । त्यस हिसाबमा सम्बन्धित वार्डका मान्छेले पनि मलाई काम गर्न नसकेको भन्दै छन्,’ यस विषयमा बुझ्दा वडाध्यक्ष कार्कीले फोन सम्पर्कमा भने, ‘सम्बन्धित वडाध्यक्षलाई कुनै आधार नै नदेखाई बजेट अर्काे वार्डमा सरेर लगिएकाले राजीनामा दिन लागेका हौँ ।’
वडाध्यक्ष कार्कीका अनुसार गत असारमा सार्वजनिक भएको बजेटमा ५ नम्बर वडामा पार्क बनाउने विषयले वडाबासी खुशी थिए । ‘तर वार्डका जनाताले आफैँले चुनेको जनप्रतिनिधिले पनि बजेट समाल्न नसकेको भन्दै विरोध जनाउन थालेपछि राजीनामाको लागि छलफल शुरु गरेका हौँ ।’