बेलबारीः स्थानीय तहको निर्वाचनसँगै छानिएका जनप्रतिनिधिका काँधमा धेरै जिम्मेवारी छ । विकास निर्माणदेखि घरायसी समस्यासम्म मिलाउने जिम्मा उनीहरूकै हातमा छ । स्थानीय तहका उप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएसँगै उनीहरूको काँधमा थप जिम्मेवारीबोध भएको छ ।

उपप्रमुखहरू अहिले न्यायाधीशको काम गरिरहेका छन् । सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । आर्थिक लेनदेनसँगै कुलो पैनी तथा सीमा विवादका घटना न्यायिक समितिमा आउने गरेको बेलबारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक ढाकाकुमारी पराजुलीले बताइन् ।

जनप्रतिनिधि आउनुभन्दा अगाडिसम्म स्थानीय प्रशासनमा आउने खालका मुद्दा अहिले जनप्रतिनिधिसँग आइपुगेका छन् । स्थानीय न्यायाधीशका रूपमा स्थानीय तहका उप प्रमुखलाई लिने गरिन्छ । प्रहरी कार्यालयमा आउने घटना अधिकांश नगरपालिकामा जाने गरेका छन् ।

धेरै मुद्दाको छिनोफानो स्थानीय तहमा हुन थालेपछि भीडसमेत बढ्दै जान थालेको छ । ‘हप्तामा २ दिन न्यायिक समितिको काम गर्ने गरेकी छु’, पराजुलीले भनिन् ‘शुक्रबार र सोमबार अरु काम गर्न नै भ्याइँदैन ।’ २०–२१ वर्ष अघिका लेनदेनका घटनासमेत आउने गरेको उनले बताइन् ।

पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट भन्छिन्, ‘कुनै उजुरी आए प्रहरीले समेत नगरपालिकातिर देखाउन थालेका छन् । जग्गा विवाददेखि वैदेशिक रोजगारीका समस्या पनि न्यायिक समितिमा आउने गरेका छन् ।

न्यायिक समितले काम गर्न थालेपछि प्रहरी कार्यालयमा समेत मुद्दा कम आउन थालेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । बेलबारी नगरपालिकाको न्यायिक समितिले मात्रै ३ सय ६५ वटा मुद्दा मिलाएको छ । सम्बन्ध विच्छेदको एउटा मुद्दा पनि नगरपालिकाबाटै मिलाइएको न्यायिक समितिले जनाएको छ । सम्बन्ध विच्छेदका केही मुद्दा भने अदालतमा पठाएको जनाइएको छ । उजुरी लिएर आएको एक हप्ताभित्रमा मिलाएर पठाइने न्यायिक समितिले जनाएका छन् ।