धनकुटाः उच्च मूल्य पाइने हुनाले कुनै बेला अलैँचीलाई खोल्सीको कालो सुनको रूपमा लिने गरिन्थ्यो । तर लगातार मूल्यमा आएको गिरावटका कारण त्यही कालो सुनको खेती यतिबेला धनकुटाका किसानका लागि निल्नु न ओकल्नु बनेको छ ।

अलैँचीमा सुनौलो भविष्य देखेर २०३८ सालमा महालक्ष्मी नगरपालिका वडा नम्बर ३ का किसान रत्नबहादुर थापाले अलैँची खेती शुरु गरे । २०३९ सालमा उनले २ हजार १ सय रुपैयाँ प्रतिमन बिक्री गरेको अलैँची ४ वर्ष अघि प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म सम्म पुगेको थियो । तर त्यसयता निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले भने प्रतिमन ३० हजार रुपैयाँमा झरेको छ ।

कम मूल्य र रोगकीरा दुवैतिरबाट पीडित
एकातिर मूल्यमा निरन्तर गिरावट आउँदा किसान समस्यामा परेका छन् भने अर्कोतिर रोग, कीरा, ढुसीजन्य सङ्क्रमण, जलवायु परिवर्तनका कारण बर्सेनी अलैँचीको उत्पादन घट्दा समस्या थपिएको छ । उत्पादन र मूल्य दुवैका कारण समस्यामा परेका छन् किसान । ‘शुरु मूल्य सामान्य भए पनि मध्यतिर उच्च भयो,’ थापा भन्छन्, ‘त्यसैको लोभले धान उत्पादन हुने खेतमा अलैँची लगाइयो । तर अहिले रोग र कीराले त सखाप पा¥यो नै मूल्यसमेत घटेर अलैँची खेती निल्नु न ओकल्नु बनेको छ ।’

थापा जस्तै अलैँची खेती गर्ने धेरै किसान मूल्यमा आएको गिरावटका कारण समस्यामा परेका छन् । खोल्सीको कालो सुनको रूपमा लिइने अलैँचीमा रोग कीराको प्रकोपसँगै मूल्यमा आएको भारी गिरावटका कारण किसानको चिन्ता चुलिएको हो । मूल्यमा आएको गिरावटका कारण धनकुटाका धरै किसानले पुरानो अलैँची नै बिक्री गर्न सकेका छैनन् । मूल्यमा आएको गिरावटले लगानी नै नउकास्ने भएकाले मूल्य बढ्ने आशामा अलैँची बिक्री गर्न नसकिएको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ डाँडागाउँका किसान विनोद थापा बताउँछन् ।

मूल्य निरन्तर ओरालो लाग्दा किसानले उत्पादन गरेको अलैँची बिक्री हुन सकेको छैन । किसानले जस्तै धरै व्यापारीले समेत अलैँची बिक्री गरेका छैनन् । नेपालबाट भारत जाने अलैँचीमा विभिन्न नक्कली अलैँची मिसावट भएपछि मूल्यमा गिरावट आएको हुन सक्ने अलैँची व्यवसायीहरू बताउँछन् । नेपालमा अलैँचीको गुणस्तर जाँच गर्ने क्वारेन्टाइन र नेपालमा उत्पादित अलैँचीको विश्व बजारमा आफ्नै जात नभएकाले पनि समस्या थपिएको हो ।

हाल धनकुटामा करिब २ सय ४० हेक्टर क्षेत्रफलबाट वार्षिक रूपमा १ सय ४५ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ ।