सङ्खुवासभाः सङ्खुवासभाका १० स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै ३ करोड रुपैयाँ खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउने भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरिदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी जम्मा २ करोड ८२ लाख १९ हजार ४ सय ४८ रुपैयाँ गाडी खरीदमा खर्च भएको पाइएको छ ।

खाँदबारी नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि आएपछि ३० लाखमा एउटा बोलेरो गाडी खरिद गरेको छ । नगरपालिकाले ३८ लाख २५ हजारमा एउटा ब्याकोलोडर पनि खरिद गरेको नगरपालिका स्रोतले बतायो । खाँदबारी नगरपालिकामा यस अघि नै २ वटा गाडी सञ्चालनमा छन् । अहिले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको लागि जम्मा ३ वटा गाडी सुचारु भएको नगरपालिकाले बतायो ।

चैनपुर नगरपालिकाले जनप्रतिनिधिलाई फिल्डमा जान सजिलो हुने भन्दै ५ लाख रुपैयाँमा होन्डाको एउटा मोटरसाइकल खरिद गरेको छ । टाटाको पुरानो एउटा गाडी सञ्चालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले बताए ।
मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोख्रेलका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा महिन्द्राको एउटा गाडी २३ लाख ८५ हजारमा खरिद गरिएको छ ।

जिल्लाको धर्मदेवी नगरपालिकाले ३२ लाख ६० हजार रुपैयाँमा महिन्द्राको एउटा गाडी खरिद गरेको छ । त्यस्तै, धर्मदेवी नगरपालिकाले मेयरको प्रयोजनको लागि भन्दै २ लाख ५५ हजार ४ सयमा यमाहाको एउटा मोटरसाइकल र उपमेयरको प्रयोजनको लागि भन्दै यमाहाको एउटा स्कुटर १ लाख ७४ हजार ४ सयमा खरिद गरेकोे प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीले बताए । जिमीका अनुसार २ लाख १७ हजार ९ सयका दरले ८ वटा मोटरसाइकल १७ लाख ४३ हजार २ सयको लागतमा खरिद गरिएको छ । तीमध्ये ३ वटा मोटरसाइकल नगरपालिका कार्यालयमा रहेको छ भने अन्य ५ वटा मोटरसाइकल वडाको प्रयोजनको लागि सुचारु छन् । त्यस्तै सो नगरपालिकाले ३९ लाख ३४ हजारमा एउटा जेसिबी पनि खरिद गरेको छ ।

पाँचखपन नगरपालिकाले ३७ लाखको लागतमा एउटा गाडी खरिद गरेको थियो । सो गाडी केही दिन अघि दुर्घटनामा परेर सञ्चालन नहुने अवस्थामा छ । त्यस्तै, २ लाख ५० हजारका दरले ८ वटा मोटरसाइकल पनि नगरपालिकाले खरिद गरेको नगरपालिकाका सूचना अधिकारी प्रेम बहादुर श्रेष्ठले जानकारी दिए । ती मोेटरसाइकलमध्ये वडा कार्यालयलाई ५ वटा दिइएको छ भने नगरपालिका कार्यालयमा ३ वटा छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार नगरपालिकाले ४५ लाखमा एउटा जेसिबी पनि खरिद गरेको छ ।

उता, जिल्लाको चिचिला गाउँपालिकाले २ लाख ६५ हजार ९ सयको लागतमा एउटा होण्डा मोटरसाइकल खरिद गरेको छ भने २ लाख ५६ हजार ५ सय ४८ रुपैयाँमा एउटा पल्सर मोटरसाइकल खरिद गरेको छ । गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र घिमिरेका अनुसार २ लाख १६ हजार ४ सय रुपैयाँका दरले ८ लाख ६५ हजार ६ सय रुपैयाँका ४ वटा मोटरसाइकल खरिद गरिएको छ ।

मकालु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लवहाङ राईका अनुसार २ लाख ४० हजारका दरले २ वटा मोटरसाइकल खरिद गरेको छ । मकालु गाउँपालिका गाडी खरिदको प्रक्रियामा रहेको छ । गाडी खरिदको लागि पैसा छुट्याइएकाले चाँडै नै गाडी खरिद गरिने राईले जनाए ।

सभापोखरी गाउँपालिकाले ३ थान मोटरसाइकल खरिद गरेको छ । गाउँपालिकाका सूचना अधिकारी गायत्री बाह्रकोटीका अनुसार २ लाख ३९ हजार, ४ लाख ७५ हजार र २ लाख ५० हजार गरी कुल ९ लाख ६४ हजारको लागतमा ३ वटा मोटरसाइकल खरिद गरिएको छ । हाल सभापोखरी गाउँपालिकाको नाममा ६ वटा मोटरसाइकल सुचारु अवस्थामा छन् ।
३ वटा मोटरसाइकल साविक गाविस हुँदा नै खरिद गरिएको थियो । त्यस्तै, सभापोखरी गाउँपालिका गाडी खरिदको प्रक्रियामा रहेको छ । अब केही समयमा नै गाउँपालिकामा गाडी ल्याइने सूचना अधिकारी बाह्रकोटीले बताए ।

जिल्लाको दुर्गम भनेर चिनिने सिलिचोङ गाउँपालिकाले २ लाख ८५ हजारको दरले ३ वटा मोटरसाइकल खरिद गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाका अनुसार कुल ८ लाख ५५ हजार रुपैयाँको मोटरसाइकल खरिद गरिएको हो । गाउँपालिकाको नाममा हाल ५ वटा मोटरसाइकल सुचारु अवस्थमा रहेका छन् ।

सङ्खुवासभाको सबैभन्दा दुर्गम भनेर चिनिने भोटखोला गाउँपालिकाले भने हालसम्म कुनै पनि सवारी खरिद गरेको छैन । गाउँसभाले ३ वटा मोटरसाइकल खरिदको लागि पास गरे पनि खरिद प्रक्रिया नै शुरु नभएको गाउँपालिकाका सूचना अधिकारी दावा लामाले बताए । लामाका अनुसार पुराना ४ वटा मोटरसाइकल भए पनि सदरमुकाम खाँदबारीमा नै रहेका छन् । बाटोको समस्याले ती सवारी गाउँपालिका लैजान नसकिएको उनले बताए ।

यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढी मात्रामा किनिनुले जनप्रतिनिधि तथा कर्मचारी विलासी र सुवधाभोगी हुँदै गएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।