इटहरीः यही मंसीर १३ गते कालोपत्रे भएको सडक उक्किन थालेको छ । इटहरी उपमहानगरपालिका वडा नं २ मा कालोपत्रे भएको सडकमा खाल्डा पर्न थालेको छ । इटहरी– धरान सडककोे आँपगाछीबाट पूर्वतर्फको पासाङ मार्ग निर्माण सम्पन्न भइनसक्दै भत्किन थालेको हो ।

‘आर वान कन्ट्रक्सन’ले ठेक्कामा पारेको सो बाटोमा गुणस्तरहीन पिच भएको पाइएको छ । आर वानले ठेक्का पारे पनि ठेकेदार कृष्ण खड्काले कामको जिम्मा लिएका थिए । १३ लाख ९४ हजार ३ सय ६० रुपैयाँमा सडक मर्मत गर्ने जिम्मा पाएको सो कम्पनीले काम सकेर नगरपालिकालाई जिम्मा लगाइसकेको बताएको छ ।

इटहरी उपमहानगरपालिकाका सब इन्जिनियर अर्पण लिम्बूका अनुसार निर्माण कम्पनीले काम सम्पन्न भएको भनेर जानकारी गराएको छ । तर उपमेयरको कार्य व्यस्तताका कारण अनुगमन भने हुन सकेको छैन । अहिले पनि सो सडकको विषयमा ‘कम्प्लेन’ आइरहेको छ तर ठेकेदारले बाटो पुनः बनाउने बताइरहेका छन् ।

उता ठेकेदार खड्का भने आफ्नो केही गल्ती नभएको बताउँछन् । नगरपालिकालाई ‘मेन्टेनेन्स’ गर्नुपर्छ भनेको तर केही सुनुवाइ नभएको उनको तर्क छ । सडक भत्किएको विषयमा आफूलाई जानकारी नभएको र यदि त्यस्तो हो भने नगरपालिका कार्यालयले काम नगरेको हुनुपर्ने उनको भनाइ छ । बाटो राम्रै बनेको भए पनि बनेको भोलिपल्टै सवारी चल्न थालेपछि भत्किएको हुनुपर्ने उनी बताउँछन् । ‘मैले सिलकोट हाल्नुपर्छ पनि भनँे तर कसैले टेरेनन्,’ उनी भन्छन्, ‘तथापि पकाएको माल हालेर पुनर्निमार्ण गर्न सकिन्छ ।’

स्थानीयका अनुसार खड्काले भनेजस्तो सामान्य टालटुल गरेर बाटो पक्का बनाउन सकिने अवस्था भने छैन । हातले कोट्याउँदा समेत उक्किने, मोटरसाइकलको स्टेनले भत्किने र हिँड्दा पिच गरेको सिलिकन उक्किने गरेको छ ।

ठेकेदारकै कारण बाटो कमसल
पछिल्लो समय बन्ने गरेका नयाँ पिच तथा पुरानो पिच मर्मतको सडकको अवस्था एकै प्रकारको रहेको छ । ठेकेदारको लापरवाहीकै कारण अधिकांश योजना कमसल हुने गरेका छन् ।
स्थानीय टङ्क दाहालका अनुसार सो बाटो ३ वर्ष अगाडि पनि पिच भएको थियो । तर, हाल जीर्ण भएकाले पुनर्निर्माण गरिएको हो । १ साताअघि पुनः पिच भएको बाटो पिच गरिसकेको भोलिपल्टैदेखि भत्किन थालेको हो । आफूले यस विषयमा नगरपालिकालाई तत्काल जानकारी गराए पनि केही सुनुवाइ नभएको दाहालको भनाइ छ ।

स्थानीय बुद्धिनाथ खतिवडा पनि पुनः गरिएको कालोपत्रे कमसल भएको बताउँछन् । स्थानीय युवा पवन सुवेदी बाटो निर्माणमा शुरुदेखि नै हेलचेक्र्याइँ भएको बताउँछन् । आफू क्याम्पस आउँदाजाँदा कामप्रतिको हेलचेक्र्याइँ देखेर फेसबुकमार्फत् मेयरलाई जानकारी गराएको भए पनि मेयरका सहयोगी महेश्वर कार्कीले बेवास्ता गर्दै मेयरसम्म सूचना नपु¥याएको उनको भनाइ छ ।