मन्त्रीको गाउँ भन्नेबित्तिकै मनमा खुल्दुली थियो कस्तो होला त्यो गाउँ ? अरु गाउँ र देशलाई त विकास गर्छु भन्दै हिड्ने मन्त्रीको गाउँ त पक्कै विकसित होला, बाटाहरु चिल्ला र चौडा होलान् । सामाजिक विकास पनि त्यत्तिकै भएको होला । हाइहाई होलान् मन्त्रीजी पनि, त्यत्ति सोच्नु सायद सामान्य हुनुपर्छ ।

यसपालि पङिक्तकारले पनि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईको गाउँ पुग्ने अवसर पाएको थियो र जुटाइदिएको थियो प्रदेश १ खेलकुद विकास बोर्डले ।

IMG_1789

प्रदेश १ को जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको कार्यक्रम तय भएको खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका पुग्ने अवसरले उत्सुकता उत्तिकै उब्जाएको थियो । मनभरि बाटोका रङ्गिचङ्गी कल्पनाहरु थिए । बाटोमै पर्ने धार्मिक पर्यटकीयस्थल हलेसी महादेवको दर्शन गर्ने चाह पनि मनको कुनै कुनामा लुकेको थियो ।

बिहानको ४ बजे प्रदेश पोर्टलका प्रबन्ध सम्पादक प्रेमप्रसाद बास्तोलाको फोनले निन्द्रा भङ्ग गरिदियो । बिस्ताराबाट उठेर झोला, कपडाको तयारी गरेँ । गाडी इटहरीबाट मात्र मिल्ने अर्को फोन आएपछि घरबाट बिदा लिनुपर्ने भयो । वर्षाले छपक्कै छोपेको थियो । यसै पनि असार मानो छरेर मुरी फलाउने महिना । पहाडको यात्रा, रातको गड्याँङ्गगुडुङ्गले मनमा चिसो पसेको थियो । यद्यपि, श्रीमतीजीसँग बिदाइको हात हल्लाएर छुट्नुको विकल्प थिएन । उनले भारी मन लिएर बिदा गरिन् ।

IMG_2046

इटहरीको बीपी चौकमा लस्करै साना बोलेरो गाडीहरु लागेका थिए । केहीमा तेक्वान्दोका खेलाडीहरु थिए कुनैमा यो रेफ्रिहरुको लागि मात्र हो भन्दै थिए । गाडीको व्यवस्थापनको जिम्मा पाएका कुमार गुरु ‘बसौँ न बसौँ सबै मिलेर जाने हो’ भन्दै थिए ।

एउटा गाडीमा चढेर धरान रोडमा रहको गोरखा डिपार्टमेन्ट स्टोरअगाडि जाँदै थियौं, चौकैनजिक प्रदेश १ खेलकुद विकास बोर्डका बोर्ड सदस्य शैलेशकुमार बिष्ट भेटिए । लामो बाटो भएको हुनाले सबै खेलाडी, प्रशिक्षकहरु, रेफ्री, पदाधिकारी सबैको समुह मिलाएर जानुपर्छ भन्ने भयो ।

हामीलाई अर्को गाडीमा चढाउने कुरा भयो । मिडियाको प्रतिनिधित्व गर्ने हामी दुई प्रदेश नम्बर १ को तेक्वान्दो संघका पदाधिकारीसँगै हुने भयौँ ।

हाम्रो गाडीको पछिपछि अर्को स्कोरपियो तयार भयो । स्कोरपियोमा प्रदेश खेलकुद विकास बोर्डका अर्का बोर्ड सदस्य रितेश श्रेष्ठ, खेलप्रेमी मीनकुमार मगर , बोर्डका नायबसुब्बा विनोद पाण्डे र प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईका स्वकीय सचिव पवन श्रेष्ठ थिए । साथमा संघका कोषाध्यक्ष माधव पौडेल, सदस्यद्धय  अजित ठाकुर, ईश्वर शाही , युवराज काफ्ले र सुदिप पराजुली पनि संगै थिए । 

287941168_1004379290240409_236776407151173690_n (1)

बिहान ६ बजे इटहरीबाट सुरु भएको हाम्रो यात्रा चतरा, रामपुर हुदै उदयपुरको वर्षेडाँडामा खाजाको लागि रोकियो । त्यहाँ मन्त्रीजीको गाडी पनि खाजा खान रोकिएको रहेछ । खाजा खाएपछि मन्त्रीको गाडी अघिअघि, हामी पछिपछि भएर दौडन थाल्यौँ ।

पहाडी लामो यात्रा पहिलो पटक भएकाले बाटोको ज्ञान आफूलाई धेरै थिएन । बाटोभरि केही राजनीतिक, केही खेलप्रेमि गफ र केही मनोरन्जनात्मक गफले यात्रा छोटो बनाउन सहयोग गर्दै गए । चतरा, बेल्टार, गाइघाट हुँदै कटारीको यात्रा निकै रमाइलो भयो ।

IMG_2023

बाटो निकै सुन्दर रहेछ । त्यो उपलब्धि मधेश आन्दोलनताका भएको कुरा पनि हाम्रो छलफलको विषय थियो । कहिले मधेशको समतल भूमि अनि कहिले पहाडको बिराली परेको बाटो दुवै छिचोल्दै खाना खान घुर्मी पुग्ने संकल्प गरियो । कटारी सकेपछि घुर्मी सम्मको खाल्डाखुल्डीहरु निकै सकस लाग्ने खालका थिए । खोटाङ्ग हिडेको हाम्रो टोली सुनसरी, उदयपुर हुँदै खाना खाएपछि सुनकोसी तरेर सिन्धुलीको सिमानाबाट ओखलढुङ्गातिर तर्यौैँ ।

सुनकोसी तर्नासाथ स्कोरपियोको टायरमा समस्या आएछ । हामीले हलेसी पुगेर पर्खने योजना बनाएर यात्रालाई निरन्तरता दियौँ । ओखलढुङ्गा र खोटाङ्ग जिल्लाको सिमानामा लगाइएको पुल कटेपछिको बाटो निकै कष्टकर रहेछ । वर्षा याममा पानी परिरहेको हुनाले ग्राभेलमा भएको माटो बगाएकोले पनि ढुङ्गा र गेगरुले मात्रै गाडीलाई सास्ती दिएका थिए ।

पहाडी लोकमार्गको ३५ किलोमिटर यात्रा गर्न निकै समय लाग्यो । हलेसी महादेवस्थानमा म पुगेको २० वर्षपछि फेरि पुग्दै थिएँ । पहिला प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको हलेसी महादेवथानको वरिपरि अहिले होटल र लजले भरीपूर्ण बनाइएको रहेछ ।

किवंदन्तिअनुरुप महादेवलाई खेद्दै गएका भनिएका राक्षसहरु रहेको ढुङ्गैढुङ्गाले भरिएको पहाडको टुप्पोमा धर्मशाला बन्दै रहेछ । त्यो सम्पदाको नाश गरेर किन बनाइएको होला भन्दै बहस हामीभित्र पनि चल्यो । छोटो समयको सदुपयोग गर्दै हामी हलेसी महादेवको दर्शन गर्न मन्दिरतर्फ लाग्यौँ ।

IMG_2268

तेक्वान्दो प्रतियोगिताकै लागि काठमाडाँैबाट आएको केन्द्रीय प्रतिनिधिहरुको टोलीले दर्शन गरेर सकाएको रहेछ । हामी केही छिन मन्दिर परिसरमै रहँदै गर्दा हामीलाई पछ्याइरहेको स्कोरपियो पनि आइपुग्यो । हाम्रो टोलीमा भएका मिडियाकर्मी तथा प्रदेश तेक्वान्दो संघका सदस्य युवराज काफ्ले, प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष इश्वरजङ्ग शाह, सचिव माधव पौडेल, र कोषाध्यक्ष अजित ठाकुर हलेसी दर्शनपछि पुनः यात्रामै लाग्यौँ । अर्को दिन अर्थात् असार ३ र ४ गते आयोजना हुने प्रतियोगिताको पूर्वतयारीको लागि त्यो दिन हामी अनिवार्य बाक्सिला पुग्नैपर्ने थियो ।

हलेसी कटेपछि दिक्तेल जाने बाटो निकै राम्रो रहेछ । हामीलाई धेरै अरु खेलाडीहरु चढेका गाडीले उछिनिसकेका थिए । नुनथला हुँदै हुर्लुङ्ग पुगेपछि हामीलाई देब्रेतिर लाग्न भनिएको थियो । हामीलाई हलेसीबाट उछिनेको स्कोरपियो हुर्लुङ्गमा हामीलाई पर्खिएर बसेको रहेछ ।

हुर्लुङ्गबाट जाल्पा हुँदै आरालो निकै गाह्रो थियो । बाटो हेर्दा गाडी कुद्नेजस्तो नलागेपनि गाडीहरु कहिले भ्यागुताजस्तै गतिमा उफ्रिँदै कुद्दै थिए । वर्षे विकासको मार त्यहाँ पनि परेको रहेछ । हुर्लुङ्गबाट ओरालो लाग्नासाथ ब्याक कटिङ्ग गरेर बाटो हिलाम्मे बनाइएको रहेछ । निकै मुस्किल काट्दै हामी ओरालो लाग्यौँ । तल गाउँमा आएर सोध्दा अझै गन्तव्य पुग्न अढाई घण्टाको समय लाग्नसक्ने प्रक्षेपण गरियो ।

IMG_2261

बेला बेला पछाडिको गाडी फस्छ कि, ठेल्नुपर्ने हो कि भन्दै बाटो कटाउँदै जाल्पा पुग्यौँ जाल्पामा प्रतियोगिताको संयोजन गरेको जिल्ला खेलकुद विकास समिति खोटाङ्गले स्वयंसेवक खटाएको रहेछ । हामीलाई गन्तव्यमा आवश्यक पर्ने सहयोगको लागि एउटा सम्पर्क नम्बर दिएर अब चाँडै पुगिने आश्वासन ती स्वयंसेवकले दिए ।

हाम्रो ओरालो यात्रा तापखोलासम्म पुगेर उकालोमा परिणत भयो । रात झमक्क परेको हुँदा दोबाटो आउँदा बाटो ठम्याउन निकै गाह्रो पथ्र्यो । कहिले ओर्लेर गाडी चक्काको डाम हेर्दै त कहिले आयोजकलाई फोन गरेर अब कता जाने हो भनेर सोध्दै उकालो लाग्यौँ । पहाडको बाटो ओरालो भन्दा उकालो निकै कठिन हुँदै जाँदै थियो ।

प्रक्षेपण गरेभन्दा केही ढिला गरी हामी ९ बजेतिर मात्र बाक्सिला पुग्यौँ । पहाडी जिल्ला भएको हुनाले केन्द्रीय प्रसारण लाइनसँग जोडिएको भएता पनि बिजुली गइराख्ने बाक्सिलाको समस्या रहेछ । देश संघीयतामा जानुपूर्व बाक्सिला गाविसको रुपमा चिनिएको उक्त ठाउँ संघीयतापछि केपिलासगढी गाउँपालिका भएको हो । बाक्सिला बजारमा प्रवेश गर्नासाथ संयोजनको जिम्मा पाएका साथीहरु हामीलाई स्वागत गर्न पर्खिएर बसेका रहेछन् । त्यही भीडमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन राई पनि देखिए ।

IMG_1706

पाहुनालाई बसोबासको व्यवस्था मिलाउन जिल्लागत हिसाबले होटलको व्यवस्था गरिएको थियो । हामी आयोजक टोलीसँग भएको हुनाले हाम्रो टोलीलाई बजारको मुनितिर रहेको मुना होटल र मैया होटलमा बस्ने व्यवस्था गरिएको रहेछ । काठमाडौँबाट आएको टोली बन्दना तामाङ्गको होटलमा बस्यो । बन्दना माओवादी जनयुद्धमा सहभागी भएर लामो राजनीतिक यात्रामा होमिएकी लडाकु रहिछन् ।

अहिले नेकपा माओवादी केन्द्र केपिलासगढी गाउँपालिकाकी सहइन्चार्जको रुपमा जिम्मेवारी सम्हालिरहेकी तामाङ्ग निडर र साहसी महिला नेतृ भएजस्तो लाग्यो । हामी दुई मिडियाकर्मी उनकै बहिनी सरस्वती तामाङ्गको घरमा बस्यौँ । लामो समयदेखि राजधानीमै बसेकी बन्दना र सरस्वती दुवै भर्खर मात्रै बाक्सिलामा व्यावसायमा होमिएका रहेछन् । त्यत्ति धेरै पाहुनाहरु नआउने भएकाले बाक्सिलाका होटलहरु त्यत्ति व्यवस्थित त थिएनन्, तर गाउँले प्रकारको स्वागत र सत्कार निकै मीठो थियो ।

289715659_1144798776081471_6820078736283912668_n

मैया सुनुवार यसैपालि केपिलासगढी गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी रहिछन् । चुनाव हारेपनि मन जितेकी मैया अब व्यवस्थित हिसाबले होटल व्यवसाय चलाउने विचारमा छिन् । हामीसँगको छोटो कुराकानीमा मैयाले दुर्गममा हुने निर्वाचनहरु झनै खर्चिलो भएको अनुभव सुनाइन् ।

असारको ३ र ४ गते भएको तेक्वान्दो प्रतियोगिता निकै रोचक बन्यो । प्रदेशभरिका १४ वटा जिल्लाबाट आएका खेलाडीहरुले आआफ्नो खेल देखाए । उद्घाटन कार्यक्रममा मन्त्री राजन राई सहभागी भए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका राजन राई नेकपा एमालेबाट प्रदेशमा निर्वाचित सांसद हुन् भने पछि पार्टीमा विद्रोह भएपछि माधव नेपाल तर्फको नेकपा एकीकृत समाजवादी पार्टीमा छन् ।

मन्त्री भएपछि आफ्नो जन्मथलोमा पनि कार्यक्रम गरौँ भन्ने आशयका साथ तेक्वान्दो प्रतियोगिता खोटाङ्ग पुर्याइएको प्रतिक्रिया आइरहँदा मन्त्रीले भने यस विषयमा केही बोलेनन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा तेक्वान्दोका सँस्थापक दीपराज गुरुङ्गले तेक्वान्दोलाई चिनाउने राजकुमार राईलाई सम्झिए भने जिल्ला तेक्वान्दो संघ खोटाङ्गका उपाध्यक्ष लक्ष्मण राई पनि आफ्नो गाउँमा प्रदेशभरिका खेलाडी भेला भएर प्रतियोगितामा सहभागी हुँदा निकै खुसी देखिन्थे ।

289933571_436831854684650_4783077376041580579_n

धेरैजसो राई जातिको बसोबास रहेको केपिलासगढी गाउँपालिकाको जक्सनको रुपमा बाक्सिला निकै सुन्दर र धार्मिक तथा साँस्कृतिक रुपमा धनि भएको त्यहाँका सामाजिक अभियन्ता उमेश राई बताउँछन् । धार्मिक तथा साँस्कृतिक विविधताले केपिलासगढीलाई चिनाएको रहेछ ।

तत्कालीन ७ वटा गाविस मिलेर बनेको केपिलासगढी प्राकृतिक सुन्दरताको समेत उत्कृष्ट नमुना हो भन्दा अतिशयुक्ति हुँदैन सायद । केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई, नेकपा माओवादी केन्द्र केपिलासगढीकी इन्चार्ज रस्मी रसाइली, जिल्ला खेलकुद विकास समिति खोटाङ्गका निवर्तमान अध्यक्ष माइतीराज राई, तेक्वान्दोका खेलाडी गोल्ड मेडलिस्ट ज्ञानबहादुर श्रेष्ठलगायत सँगको भेटले मन्त्रीको गाउँ जाँदाको स्मरणलाई ताजा बनाइरहनेछ ।

IMG_1728

केपिलासगढीमा हाम्रो बसाइलाई मीठो खानाले स्मरणयोग्न बनाइराख्ने बहिनी समिक्षा तामाङ्गलगायत सम्पूर्ण केपिलासगढी र खोटाङ्गलाई तराईबाट थुप्रै सम्झना छ । खेलकुदलाई जिवन्त बनाउन फेरी पनि यस्ता प्रतियोगिताहरु जिल्लाजिल्लामा हुनुपर्छ । जति धेरै प्रतियोगिताहरु हुन्छन,् त्यति नै खेलाडी र खेलप्रेमीको हौसला बढ्ने रहेछ । त्यतातिर राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंशराज वाग्लेलाई पनि खेलाडीबाट बुझेको कुरा यहीँबाट सुनाइदिन मन लाग्यो । अन्त्यमा यस्तो अवसर जुराइदिनुभएकोमा तेक्वान्दो, प्रदेश खेलकुद विकास बोर्ड र सम्बद्ध सबैमा धेरै धन्यवाद । बाक्सिलालाई मीठो सम्झना पनि ।

IMG_1796