इलामः विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् । प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन खोलेका हुन् ।

नवगठित अर्थोडक्स श्रमिक महिला मञ्चकी सचिव देवुका आचार्यले कारखानामा महिला र पुरूष श्रमिकबीचको विभेदविरूद्ध आवाज उठाउन सङ्गठन खोलिएको बताइन् । प्रशोधन कारखानामा पुरुषलाई दैनिक ४ सय र महिलालाई ३ सय रुपैयाँ ज्याला दिने गरिएको उनले बताइन् ।

उनका अनुसार मञ्चमा दुई जिल्लाका सबै प्रशोधन केन्द्रका १÷१ जना महिला समेटिएको छ । सङ्गठनका अन्य सदस्य आवश्यकताअनुसार थप गर्दै लगिने बताइएको छ । एक्लैले बोल्दा आवाज प्रभावकारी नहुने भएकाले सङ्गठन खोलिएको उनले बताइन् ।

सङ्गठनले श्रमिकहरूको बचतसमेत सङ्कलन गर्न थालेको उनले बताइन् । अध्यक्ष होमकुमारी आचार्यका अनुसार मासिक १ सय रुपैयाँ बचत सङ्कलन गर्नुका साथै आवश्यक पर्दा महिला श्रमिकलाई सो रकम सहुलियत ब्याजमा ऋण पनि दिने गरिएको छ ।