इटहरीः त्रेता युगमा भगवान् रामले धुनी (आगो) जगाएको विश्वास गरिएको सुनसरीको ऐतिहासिक रामधुनी मन्दिरमा बिहीबार डेढ लाख भत्तजनहरूले शतबीज छरेको मन्दिर व्यवस्थापनले दाबी गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिकाको वडा नम्बर ४ मा रहेको ऐतिहासिक रामधुनी मन्दिरमा आज हजारौँ भक्तजन पुगेका छन् । बालाचतुर्दशीको दिन पितृलाई सम्झेर शतबीज छर्ने भक्तजनका कारण मन्दिर परिसरमा बिहानैबाट भीड भएको थियो ।

मंसिर कृष्ण चतुर्दशीको दिन हरेक वर्ष वैदिक सनातन धर्मावलम्बीहरूले शतबीज छर्ने गर्छन् । शतबीज भनेको विभिन्न किसिमका सय थरीका अन्नको बीउ हो । तर, सय थरीका अन्न नपाइने हुनाले सात थरीका अन्नको बीउ अर्थात् सप्तबीज छर्ने चलन बढेको छ । सप्तबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो पर्छन् ।

श्री रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले पनि आजको भीड ऐतिहासिक भएको बताए । उनले भने, ‘त्रेता युगमा भगवान रामले धुनी जगाएर बनाएको रामधुनीको महत्व बुझ्नेहरू बढ्दै गएकाले भक्तजनहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।’ आज २० हजारभन्दा बढी भक्तजनहरू आएको अनुमान व्यवस्थापन समितिले गरेको कार्कीले बताए ।
बालाचर्तुदशीमा शतबीज छरेमा धेरै पुण्य हुने भन्ने धार्मिक आस्थाका आधारमा आएका भक्तजनहरूले रामधुनी मन्दिरमा भीड बढेको थियो । २ किलोमिटर वरै पार्किङ गरेर व्यवस्थित गर्न खोजिएको मन्दिरमा पैदल यात्रीहरूको पनि अत्यधिक भीड थियो ।
इटहरीबाट १६ किलोमिटर तथा झुम्का बजारबाट ८ किलोमिटर टाढा रहेको रामधुनी मन्दिरमा शतबीज छर्न आउने भारतीयहरू पनि बढेका छन् ।
भारतीयहरूसँगै नेपाली किशोरकिशोरीहरू पनि बढेको व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । ‘टिनएजरहरू पनि आउन थाले’, बिहीबार फोन सम्पर्कमा कार्कीले भने, ‘आज साँझ ७ बजेपछि मात्रै आउनेहरू बन्द भए । हिजैबाट भीड भयो ।’
सडकमार्गमा सुधार भएको अवस्थामा आगन्तुकहरू बढेर जाने कार्कीले बताए । यसको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष योजना ल्याउनुपर्ने कार्की बताउँछन् । उनी भन्छन्, ‘रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिर ऐतिहासिक राष्ट्रिय धार्मिक तथा सांस्कृतिक सम्पदा हो । यसको विकासमा तीनै तहका सरकार लाग्नुपर्छ ।’