इटहरीः प्रदेश नम्बर १ का १४ वटै जिल्लाका युवाहरूले प्रादेशिक युवा ऐनको निर्माणको लागि प्रदेश सरकारसँग माग गरेका छन् । नेसनल युथ काउन्सिल (एनवाइसी) प्रदेश नम्बर १ ले इटहरीमा आयोजना गरेको प्रादेशिक युवा भेलाको उद्घाटनमा बोल्दै सहभागीहरूले प्रादेशिक युवा ऐनको माग गरेका हुन् ।

इटहरीमा आयोजना भएको प्रदेश नम्बर १ को युवा भेलामा प्रदेशभरका युवाहरूको क्षमता र सोचलाई समेट्न प्रादेशिक युवा ऐनको आवश्यकता रहेको भन्दै उनीहरूले ऐनको माग गरेका थिए ।

‘देश सङ्घीयतमा गइसकेको छ । अब सबै अधिकारहरू विकेन्द्रीकृत हँुदैछन्’, सुनसरी राष्ट्रिय युवा परिषद्का सुनसरी अध्यक्ष हर्कजङ एभेङले भने, ‘प्रादेशिक लेभलमा अधिकार विकेन्द्रित भइसकेको अवस्थामा युवासम्बन्धी नीति पनि प्रादेशिक तवरबाट आउन जरुरी छ ।’

प्रादेशिक तहमा तयार भएका योजना कार्यान्वयन गर्न तथा अन्य कानुन निर्माण गर्नको लागि प्रदेश स्तरको युवा ऐनको आवश्यकताको बारे कार्यक्रममा छलफल भएको थियो । कार्यक्रमका वक्ताहरूले युवा नीति प्रत्येक स्थानीय तहको वडावडामा हुनुपर्ने बताएका थिए ।

२ दिनसम्म चल्ने कार्यक्रममा प्रदेश नम्बर १ का १४ वटै जिल्लाका युवाहरूको उपस्थितिमा प्रादेशिक युवा विकासको विषयमा छलफल हुने छ । राष्ट्रिय युवा परिषद् सुनसरी र इलामका अध्यक्षको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेसनल युथ काउन्सिलका प्रदेश संयोजक सुशील राजकर्णको अध्यक्षतामा भएको थियो ।