इटहरीः इटहरी उपमहानगरपालिकाको क्षमता अभिवृद्धिका लागि विश्व बैंकले ५ वर्षका लागि एक अर्बभन्दा बढी रुपैयाँको लागतमा विभिन्न कार्यक्रम गर्ने भएको छ । विश्व बैंकले शहरी शासकीय क्षमता तथा पूर्वाधार आयोजनाअन्तर्गत भौतिक पूर्वाधारसहित उपमहानगरको क्षमता अभिवृद्धिका लागि सो रकम बराबरको कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
५ वर्षसम्म सञ्चालन हुने ती कार्यक्रमका लागि इटहरीमा ४ वटा ठूला योजना छनोट गरिने इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले बताए । विश्व बैंकले इटहरी उपमहानगरसहित देशभरका १७ वटा नगरपालिकामा भौतिक पूर्वाधारसहित नगरपालिकाको क्षमता अभिवृद्धि र ४ वटामा क्षमता अभिवृद्धि कार्यक्रमका लागि १ सय ५० मिलियन डलर सहयोग गर्न लागेको इन्जिनियर दाहालले बताए ।
इटहरीमा सो कार्यक्रमका लागि कन्सल्टयान्ट नियुक्तिको चरणमा रहेको वरिष्ठ इन्जिनियर दाहालले बताए । त्यसपछि डिपिआर निर्माणको चरणमा पुगिने उनले बताए । विश्व बैंकको सहयोगमा सञ्चालन गरिने सो कार्यक्रमको तयारीका बारेमा बुधबार काठमाडौंमा कार्यशाला सम्पन्न भएको छ ।