धरानः नेपालका आदिवासी समुदायमा साँस्कृतिक पूनर्जागरण बढेसंगै नेपाली समाजमा उनीहरुका मौलिक खानपिन, पहिरन, संगीतका साथै प्रतिकहरु सामाजिकीकरण हुने क्रममा छन् । कतिपय कुराहरु लोकप्रिय बन्न थालेका छन् । यसै क्रममा साँस्कृतिक प्रतिक चिन्ह सिलाम साक्माको प्रचलन पछिल्लो समय बढ्दै गएको पाइन्छ । 

आदिवासी समुदायका सार्वजनिक समारोहहरुमा सम्मानका रुपमा लगाइदिने यो प्रतिक चिन्ह लिम्बू समुदायको धार्मिक तथा साँस्कृतिक प्रतिक चिन्ह हो । मुन्धुममा सिलाम साक्मालाई मृत्यु छेक्ने शक्ति भएको यन्त्रको रुपमा वणर्न गरिएको पाइन्छ । यसको प्रचलन बढ्दै गएपछि व्यावसायिक रुपमा पनि उत्पादन हुन थालेका छन् र सुनको सिलाम साक्मा पनि बन्न थालेको छ ।

नेपालकै मौलिक पहिचानको यो प्रतिक चिन्ह बनाउने सीपलाई आयमूलक बनाउन सकिने भएकाले लिम्बू विद्यार्थी मञ्चद्वारा कलेजका विद्यार्थीहरुलाई सिलाम साक्मा बनाउने प्रशिक्षण सञ्चालन गरिएको  छ । शनिबारदेखि सुरु भएको तालिममा ४५ जना विद्यार्थीहरु सहभागी छन् । उनीहरुलाई ३ दिनमा सिलाम साक्मा बनाउन दक्ष बनाइनेछ । 

सिलाम साक्मा रंगीन धागो बाँसका सिन्कामा चौकोणमा बुनेर बनाइन्छ । मुन्धुमअनुसार धागोका डोराको संख्यामा ध्यान दिनु यस्को महत्वपूर्ण पक्ष हो । प्रशिक्षक गोपीलाल लिम्बूका अनुसार ९ डोराको सिलाम साक्मा मुन्धुमसम्मत हुन्छ । पछिल्लो समय सिलाम साक्मा बनाउँदा डोराको ख्यान नगरिने प्रवृत्ति बढेको उनले बताए ।

प्रशिक्षणको उद्घाटन गर्दै लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष राजेश इवाहाङले लिम्बू जातिको साँस्कृतिक पहिचानको सिलाम साक्मा आम्दामीको श्रोत हुने भएकाले विद्यार्थीहरुलाई त्यसको उपयोग गर्न प्रोत्साहनका लागि सीप सिकाउने कार्य गरिएको बताए । यसले सँस्कृतिप्रति लगाव बढाउने र आयमूलक काम पनि हुने उनको भनाइ थियो ।

सिलाम साक्मा अध्येता हितराम तिलिङले यस्को मुन्धुमी पक्षमा प्रकाश परे । किरात याक्थुङ चुम्लुङका पार्षद ताजुब लिम्बू, जिल्ला अध्यक्ष कुमार हुम्पाचोङबाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बा लगायतले सिलाम साक्माको पहिचान र सँस्कृतिका बारेमा प्रकाश परे । मञ्चका जिल्ला अध्यक्ष हरि इवाहाङ लिम्बूको सभापतित्वमा भएको समारोहमा मञ्चका केन्द्रीय उपमहासचिवद्वय सरगम सागर चेम्जोङ, प्रदीप नेयोङ लिम्बु लगायतको उपस्थिति थियो ।