इटहरीः इटहरीका चर्चित कवि देवान किराँतीको लोकप्रिय कविता संग्रह ‘हुरीमा नाचिरहेको ईश्वर’ नयाँ अवतारमा बजारमा अवतरण गरेको छ । १० वर्षअघि सार्वजनिक भई पाठकमाझ लोकप्रिय बनेको कृतिलाई कवि किराँतीले परिष्कृत गरी पुनः प्रकाशन गरेका हुन् । नयाँ अवतारमा आएको सो कृतिको आज इटहरीस्थित बगान ब्याङ्क्वेटमा भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।

सो अवसरमा लोकप्रिय कवयित्री सीमा आभास र कवि बम देवानले किराँतीद्वारा सृजित कविता संग्रहउपर टिप्पणी गरेका थिए । कवयित्री आभासले कवि किराँतीका कविताहरुमा समाजका सबै तप्काप्रति सहभाव प्रकट भएको बताइन् । कविले सृजना गर्ने कवितामा प्रयुक्त शब्द र भावहरुले कविको मनस्थिति वा कुनै पनि विषयमाथिको उनको व्यक्तिगत धारणा प्रतिबिम्बित हुने बताउँदै कवयित्री आभासले कवि किराँतीका कविताहरुले समाजका कुनै वर्गलाई भेदभाव वा पक्षपात नगरेको उनको यो कविता संग्रहमा संग्रहित कविताहरुले पुष्टि गरेको उल्लेख गरिन् । कविता संग्रहमा संग्रहित ‘होर्डिङ बोर्ड’ कविताले समाजका आपराधिक प्रवृत्तिको दुरुस्त चित्रण गरेको उनले बताइन् । कविता संग्रहमा प्रयुक्त शब्दहरुका हिज्जेमा केही अशुद्धता रहेको भएपनि संग्रहित कविताहरु भने अत्यन्त स्तरीय र काव्यिक चेतयुक्त भएको उनको भनाइ थियो ।

यसैगरी, अर्का वक्ता कवि बम देवानले कवि किराँतीका कविताहरुलाई छुर्पीसँग तुलना गर्दै पाठकले एकै पटक नभई विस्तारै यसको आस्वादन गर्न सक्ने धारणा राखे । कविता संग्रहको शीर्षकको वास्तविक जीवनसँग शादृष्यता दर्शाउँदै कवि देवानले पृथ्वीमा जीवको अस्तित्व रहनु र जीवन निर्वाह हुनु भनेको ईश्वरीय हुरीको तरङ्गको उपस्थिति छ भन्ने प्रमाणित हुनु हो भन्ने धारणा राखे । कवि किराँती आफ्ना कविताहरुमाार्फत् सशक्त क्रान्तिकारी, प्रेमीजस्ता विभिन्न चरित्रहरुमा मुखरित भई समाजको यथार्थ अवस्थाको चित्रण गर्न सफल भएको उनको भनाइ थियो ।

कवि किराँतीका पिता तथा वरिष्ठ कवि जसराज किराँतीले कला, साहित्यजस्ता क्षेत्रमा युवा पुस्ताको आकर्षणले आफूलाई उद्वेलित तुल्याएको बताए । आफूले ठूलो अभाव र गरीबीका बीच साहित्य सृजनालाई निरन्तरता दिएको बताउँदै उनले आफ्ना छोरा (कवि देवान किराँती) ले साहित्य सृजनामा गरेको प्रगतिले आफ्नो पनि पहिचान चुलिएको भन्दै खुसी व्यक्त गरे । आफ्ना छोराको कारणले नै आफूले नयाँ पुस्तासँग साक्षात्कार गर्न पाएको भनाइ कवि जसराजले राख्दा कार्यक्रमस्थलको माहौल नै रोमाञ्चक बनेको थियो ।

कार्यक्रमका सभापतिसमेत रहेका कवि मनु मञ्जिलले यसै कविता संग्रहमा संग्रहित ‘मृत्युपछि’ शीर्षकको कविता वाचन गर्दा दर्शकदीर्घा भावविह्वल भएको थियो । कविताको पृष्ठभूमिमाथि प्रकाश पार्दैैै कवि मञ्जिलले कवि किराँतीले आफ्नो मृत्युपछि आफ्नी श्रीमतीको अवस्था कस्तो होला भन्ने कल्पना गरेर यो कविता रचेको बताउँदा कार्यक्रमस्थलमै रहेकी कवि किराँतीकी श्रीमती यशोदा सेने भावुक मुद्रामा देखिएकी थिइन् । आफ्नै मृत्युपछिको संसारको कल्पना गरेर कविता रच्न सक्ने कवि किराँतीको काव्यिक चेतलाई कवि मञ्जिलले ‘नियर पर्फेक्ट’ अर्थात् पूर्णताको नजिक पुगेको काव्यिक चेतको संज्ञा दिएका थिए ।

वरिष्ठ साहित्यकार गणेश रसिकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कविता संग्रहका डिजाइनर वसन्त घिमिरे, फोटोग्राफर बिसप ताम्राकार, सज्जाकार सुन्दर बस्नेत तथा जीवन पौडेल, वक्ताद्वय कवि बम देवान तथा कवयित्री सीमा आभास र अतिथि जसराज किराँतीलाई मायाको चिनो वितरण गरिएको थियो ।