इटहरीः आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
प्रदेश–१ लगायत देशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका थोरै स्थानमा तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । वर्षाको सम्भावना रहेकाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।