धनकुटाः सञ्चालन खर्च अभावका कारण धनकुटाको साँगुरीगढी गाउँपालिकामा सञ्चालनमा रहेका सामुदायिक सिकाइ केन्द्र समस्यामा परेका छन् । गत साउन महिना यता सञ्चालन खर्च नआउँदा गाउँपालिकामा सञ्चालित ७ वटा सामुदायक सिकाइ केन्द्र समस्यामा परेका हुन् ।

एउटा सामुदायिक केन्द्र सञ्चालनको लागि वार्षिक १ लाख रुपैयाँ छुट्याइएको हुन्छ । जसबाट कार्यालय व्यवस्थापन, कर्मचारी तथ पुस्तक र पत्रपत्रिका खरिद गर्ने गरिएको छ । गत आर्थिक वर्षसम्ममा जिल्ला शिक्षा समन्वय समितिले खर्च निकासा गर्दै आएकोमा यस वर्षबाट भने स्थानीय तहले खर्च बेहोर्ने शिक्षा समन्वय समिति धनकुटाले जनाएको छ । यता गाउँपालिकाले भने कुन शीर्षकबाट खर्च गर्ने भन्ने कुरा नै टुङ्गो नभएको जनाएको छ । रकम निकासा नहँुदा सञ्चालनमा समस्या परेको ध्वजेडाँडा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष ध्रुव घिमिरेले जनाए ।

समाजका हरेक व्यक्तिलाई साक्षर बनाएर निरन्तर सिकाइ विकास गर्ने उद्देश्यका साथ २०५९ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रको नाममा स्थापना गरेको थियो ।