फाइल तस्बिर

इटहरीः इटहरी खाद्य मेलाको समापन कार्यक्रममा सहभागी हँुदै मार्सी चामल समेत किन्न मेलास्थल पुगेकी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले मार्सी चामल नै पाइनन् । मार्सी चामलको भात खाने अपेक्षासहित चामल किन्न खाद्य मेला पुगेकी गौतमले बिक्री हुन बाँकी रहेको २ किलो फापरको पिठोमध्ये १ किलो मात्र किनिन् ।

मार्सी चामल मात्र होइन जुम्लेली स्याउ किन्न गएका इटहरी–१० का सुशील बिकले पनि स्याउ किन्न पाएनन् । ‘जुम्लाको स्याउ लगायतका सामान छ भनेर मेलामा किन्न आएको थिएँ तर हिजो नै सक्किएछ’, इटहरी खाद्यमेलाको समापन समारोहमा पुग्दा भेटिएका बिकले भने, ‘जुम्लाको अर्गानिक भनेर आएको तर मार्केटमा धेरै खपत भएछ पाइएन ।’

गौतम र बिक मात्र होेइन जुम्लाको कृषिजन्य उत्पादन लिन आएका धेरै उपभोक्ता खालि हात नै फर्किए । सीमित परिमाणमा मात्र उत्पादन लिएर आएका जुम्लाका गङ्गादेवी रावत र दुर्गा रावतले इटहरीवासीलाई जुम्लाका सामग्री पु¥याउन नै सकेनन् ।

‘जुम्ला विशेष’ नाममा इटहरीको खाद्य मेला रहेको उक्त स्टलमा जुम्लामा उत्पादन भएका सबै खाद्य सामग्री बेच्न राखिएको थियो । तर ३ दिन सम्म चल्ने मेलाको इस्टिमेटले जुम्लेली सामान ल्याएका रावत जोडीले उपभोक्ताको मागलाई दोस्रो दिनसम्म मात्र धान्न सके ।

यसरी आयोजना हुने खाद्य मेलामा हिँडिरहने रावत जोडीले इटहरी आउँदा अन्य ठाउँको मेलाको भन्दा बढी नै सामान लिएर आएको बताए । तर इटहरीको बजार मागप्रति आश्चर्य हँुदै दुर्गाले भने, ‘अरुतिर भन्दा यहाँको ठूलो बजार रहेछ । २ दिनसम्म पनि ग्राहकको मागलाई धान्न सकेनौँ ।’

मेला भनेपछि जेरी र पुरी बिक्ने ठाउँ मात्र भन्ने बुझ्ने मानसिकता भएको अवास्थामा पछिल्लो समयमा खाद्यमेला प्रति उपभोक्ताको आँखा पर्न थालेको रावत जोडी बताउँछन् । हिमाली कृषि उद्योगले स्याउसँगै तितेफापरको पिठो, जुम्लाको सेतो भटमास, स्याउको चाना (सुकाएको), सिमीको दाल लगायतका स्थानीय जुम्लेली सामग्री ल्याएकोमा अन्तिम दिन फापरको पिठो १ केजी मात्र बाँकी रहेको रावतले बताए ।

जुम्लाबाट खाद्यवस्तु ल्याउने टोलीले पाएन पुरस्कार
जुम्लाका उत्पादन ल्याएर ल्याएजति सबै सामान बेचेका हिमाली कृषि उद्योगका रावत जोडीलाई भने खाद्य प्रविधि तथा गुणा नियन्त्रण कार्यालयले पुरस्कार दिएन । मेला अवलोकनकर्ताको पनि मुख्य आकर्षक रहेको जुम्लेली खाद्य पदार्थको स्टलले पुरस्कार भने पाएन ।

‘राम्रोलाई भन्दा पनि चिनेजानेकालाई दिने कुरा भएको रहेछ’, कार्यालयकै एक कर्मचारीले भने, ‘आफ्नालाई भन्दाभन्दै सबै पुरस्कार सक्किगयो । राम्रो क्रेज भएका दोकानले भने पुरस्कार नै पाएनन् ।’

हिमाली कृषि उद्योगकी गङ्गादेवी रावतले भनिन्, ‘हामीलाई त के दुखेसो हुनु र सर बेच्न आएको बेचेर जान्छाम । तर, एसो ग्राहकको भीडअनुसार चैँ पुरस्कार पाउँछौ कि भन्ने थियो पाइएन ।’