इटहरीः नेपालको सुन्तलाले अब भारतमा समेत चर्चा पाउन थालेको छ । भारतको पर्यटकीय शहर कोलकातामा जारी हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल (सुन्तला महोत्सव)मा नेपाली सुन्तलाले भारतीय ग्राहकको मन जित्न थालेको हो ।
कोलकाताको साल्टलेकस्थित सबैभन्दा बढी आवागमन हुने सिटी सेन्टरमा मङ्सिर २१ गते शुरु भएको सुन्तला महोत्सव आज सकिएको छ । महोत्सवमा सुन्तलाका साथै नेपाली घरेलु उत्पादनले उत्तरपूर्वी भारतको कोलकाता, दार्जिलिङ, सिक्किम र अरुणाञ्चल मात्र नभएर भुटान, बङ्गलादेश र म्यानमारका पर्यटकको ध्यान खिच्न सफल भएको बताइएको छ ।
सुन्तला महोत्सवको उद्घाटन कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले गरेका थिए । उनले नेपाल विश्वकै अनुपम प्राकृतिक सङ्ग्रहालय भएको चर्चा गर्दै धर्म र संस्कृतिसमेत मिल्दोजुल्दो भएका कारण नेपाल घुम्न जानका लागि आग्रह गरेका थिए ।
नेपाल, भारत, भुटान, म्यानमार र बङ्गलादेशको ग्रामीण पर्यटन र उत्पादनको प्रचारप्रसारका लागि सन् २०१० देखि हरेक दुई वर्षमा दार्जीलिङको एशोसिएशन फर कन्जरभेशन एन्ड टुरिजम (एसिटी)ले सुन्तला महोत्सवको आयोजना गर्दै आएको छ ।
महोत्सवमा शुरुका वर्षदेखि नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी नेपालको ग्रामीण पर्यटनका अभियन्ता एवम् ग्रीन जेनेरेशन झापाका अध्यक्ष अर्जुन कार्कीले गरिरहेका छन् । उनकै नेतृत्वमा यसपटक कोलकाताको महोत्सवमा प्रदेश नं १ को तर्फबाट भोजपुर, धनकुटा, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट सुन्तलालगायतका ग्रामीण उत्पादन बोकेर ८२ जना सहभागी भएका थिए ।
अहिलेसम्मका सबै सुन्तला महोत्सवमा महत्वका साथ नेपालको सहभागिता रहेको जनाउँदै कार्कीले भारत, भुटान र म्यान्मारको जनस्तरसम्म नेपाली पर्यटन र उत्पादनको प्रचार पु¥याउन सके पूर्वी क्षेत्रको पर्यटन प्रवद्र्धन हुने बताए ।
उनका अनुसार महोत्सवमा नेपालीलाई सबैभन्दा अगाडिको भागमा स्टल राख्न दिइएको थियो । नेपाली स्टलमा राखिएको धनकुटाको खोकु छिन्ताङ, इलामको सलकपुर र भोजपुरको दिङ्लाका सुन्तलाले आगन्तुकहरुको ध्यान तानेको बताइएको छ ।
सुन्तलासहित नेपाली ढाका र अल्लोको कपडा, जडीबुटी, अलैँची र अदुवालगायतका कृषि उत्पादन ती स्टलमा राखिएका थिए । बिक्री भइरहेको छ ।
सेछ ट्राभल्स धरानकी सञ्चालक एलिना मगरले स्टलबाट बङ्गाली र तेस्रो मुलुकका विदेशी नागरिकले ढाकाका टोपी र कपडा किनेर लगेको बताइन् । नेपालमा फस्टाउँदै गरेको घरबास (होमस्टे)ले उनीहरूलाई आकर्षित गरेको आफूले पाएको उनले बताइन् ।
नेरु सय रुपैयाँको सुन्तला भारु सय रुपैयाँमा बिक्री
रोङ – ६ सलकपुर इलामको जस्केलो सामुदायिक होमस्टेका अध्यक्ष लाखमान तामाङका अनुसार गाउँमा प्रतिकेजी नेरु १ सयमा बेच्ने गरिएको सुन्तला कोलकातामा प्रतिकेजी भारु १ सयमा बिक्री भएको थियो ।
क्षेत्रीय कृषि बजार धरानकी कल्पना बस्नेतका अनुसार बङ्गाली आगन्तुकले छिन्ताङको सुन्तला चाख्दै यस्तो मीठो सुन्तला फल्ने ठाउँ घुम्न चाहेको अभिव्यक्ति दिएको बताइन् ।
ताप्लेजुङबाट प्रतिनिधित्व गरेको नेपाली टोलीले अलैँची, अदुवा, ग्रीन टी, जिम्मु, छुर्पी, अम्लिसोको कुचो, अल्लोको कपडा लगायतका ग्रामीण उत्पादनहरु बिक्रीमा राखेको थियो । पाथीभरा मन्दिरको बारेमा पनि प्रचार गरेको बताइएको छ ।