इटहरीः कला क्षेत्रका विविध विधामध्ये नृत्य विधा पनि एक हो । नृत्य विधामा नियमसम्मत ढङ्गले जो कोही लाग्न पनि सक्दैन । नृत्य विधामा थरिथरी ‘प्याटर्न’ हुन्छ । क्लासिकल, कल्चरल, मोडर्नआदि नृत्य विधाभित्र पर्ने प्याटर्न हुन् । 

समान्यतया नृत्य (नाच्न) त तपाईँहामी जो कोहीलाई आउँछ नै । तर, गीतको भाव र सङ्गीतलाई न्याय गर्नेगरी नृत्य गर्नचाहिँ राम्रो ज्ञान हुन आवश्यक हुन्छ । राम्रो नृत्य गरेर आम दर्शकलाई चित्त बुझाउनु निकै कठिन कार्य पनि हो । यस्तै कठिन कार्यमा लामो समयदेखि रमाउँदै दर्शकसामु आफूलाई एउटा सफल नृत्याङ्गनाका रुपमा स्थापित गराएकी कलाकार हुन् सविता तामाङ्ग । १७ वर्षकै उमेरदेखि साँस्कृतिक नृत्यमा आफ्नो अब्बल प्रतिभा देखाउँदै आएकी नृत्यकार सविता उदयपुरको कटारीबाट संघर्षकै दौरानमा यतिबेला संघीय राजधानी काठमाडौँमा छिन् ।

d2

०५७ सालदेखि नै व्यावसायिक रुपमा नृत्यको क्षेत्रमा लागेकी उनले नृत्यकार्यलाई नै मुल पेसा बनाएकी छन् ।  उनले यो बेलासम्म आइपुग्दा लोक सङ्गीतमा चम्किएका थुप्रै गायक गायिकाहरुको स्वरले भरिएका गीतहरुमा मुख्य भूमिकामा नृत्य गरिसकेकी छन् । कुनै पनि क्षेत्रमा सफल हुनका लागि इमानदारी, लगनशीलता तथा निरन्तरता दिनुपर्ने हुन्छ । सविताले यी कुरालाई राम्रोसँग बुझेकाले पनि उनी सफल छिन् । वरिष्ठ नृत्यकार शिव विकलाई गुरु थापेकी उनी सुरुका दिनहरुमा आफ्नै गुरुको समूहमा रहेर साँस्कृतिक नृत्य गर्दै नेपालका प्रायः हरेक स्थानमा पुगेकी छन् । उनी एक्लै पनि देशका धेरै स्थानमा भएका महोत्सव तथा मेलामा पुगेर आफ्नो प्रतिभा देखाइ दर्शकहरुको मन जितिसकेकी छन् । 

d1

उनी भन्छिन् ‘मेरो नृत्यको प्याटर्न नै ‘कल्चरल’ नृत्य हो । हिजोआज नृत्य क्षेत्रमा आएकाहरुले ‘टिपिकल’ नृत्य गर्न नै सक्दैनन् । अहिले तपाईँले  कौडा, सेलो लगायतका टिपिकल नृत्य हेर्नुभयो भने पहिलाको जस्तो पाउनुहुन्न । मोडर्न टाइपका मात्र पाउनुहुन्छ । समयअनुसार चलेपनि हामीले टिपिकल नृत्यलाई जोगाइराख्नु नै पर्छ भन्ने मेरो बुझाइ हो ।’ यस्ता खालका नृत्यले जिवन्तता दिने उनी बताउछिन् ।  

मोडर्न नृत्यका नाममा आफूहरुले नेपाली समाज भित्रका सँस्कृति, सँस्कार, रितिरिवाज, भाषा र भेषभुषालाई कहिले पनि बिर्सन नहुने सविताको भनाइ छ । उनी भन्छिन् ‘म अहिलेसम्म नृत्यबाटै स्थापित भएकै मैले नृत्यको कल्चरल प्याटर्नलाई नछोडेकाले हो । म मेरो पेसा र कार्यप्रति सन्तुष्ट नै छु । मेरो परिवारबाट पनि मलाई साथ र सहयोग नै छ ।’ उनी कल्चरल नृत्यमा मात्र अब्बल होइनन् ।  जुनै खालका गीतमा राम्रोसँग कम्पोज गरी नृत्य प्रस्तुत गर्ने क्षमता राख्छिन् । स्थान, समय र अवस्था हेरी सबै खालका गीतमा राम्रोसँग नृत्य गर्न सक्ने क्षमता भएकी उनले दर्जनौँ चलचित्रका गीतहरुमा पनि नृत्य गरेकी छन् । 

d3

एकताका निकै नै चर्चामा रहेका ‘यो मायाको संसार विचित्र’, ‘के छ सालीज्यू’, ‘नौमति बाजाले’ जस्ता गीतमा नृत्य गरेकी उनले रञ्जना म्युजिक सेन्टर, धौलागिरी क्यासेट र माछापुच्छ्रे क्यासेट सेन्टरबाट उत्पादन हुने एल्बमका गीतहरुमा सविता अनिवार्यजस्तै थिइन् । नृत्यकै सिलसिलामा सिंगारपुर र दुबईसमेत पुगेकी उनले नृत्यका अलावा दर्जनौँ टेलिश्रृङ्खलामा अभियनसमेत गरिसकेकी छन् । नृत्यका क्रममा उनले दर्शकको माया मात्र पाएकी छैनन् । दर्जनौँ सम्मानपत्र, प्रशंसापत्रसमेत पाएकी छन् । जसलाई उनले जीवनको ठूलो सम्पत्तिका रुपमा सङ्गालेर राखेकी छन् । 

d4

पछिल्लो समय उनी नृत्यका अलावा गीत लेखन र गायनमा पनि सक्रिय हुन थालेकी छन् । हालसम्म उनले ४ वटा गीतमा स्वर भरिसकेकी छन् । उनको फरक खालको स्वरको मिठास बेग्लै छ । उनका ४ गीत लोकपपमध्ये २ वटाको म्युजिक भिडियो निर्माण गरिसकेकी छन् । एउटा रेकर्डिङको तयारीमा यतिबेला जुटेकी छन् । स्टेजमा मज्जाले आफु पनि नाच्न र आम दर्शकलाई पनि नचाउनका लागि सोही अनुसारका गीतहरुमा स्वर दिएको उनले बताइन् । उनी भन्छिन् ‘सँधैभरि स्टेज र क्यामेरा सेटमा नृत्य गर्न पनि नसकिएला, त्यही भएर गीत गायनमा पनि हात हालेकी हुँ । मलाई कुनै न कुनै रुपमा कलाकार भएरै मर्न मन छ । त्यही भएर मेरो अन्तिम श्वास रहुञ्जेलसम्म नृत्य नै त गर्न सक्दिनँ होला , तर  दुई शब्द गीत गाएर त मर्न पाउँछु भन्ने मेरो विश्वास भएकाले पनि गीत गायन क्षेत्रमा पनि हात हालेकी हुँ ।’

d7

d6

d5