फिदिमः बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा जन्म दर्ताको प्रमाणपत्र बनाउन नसकी अध्ययनमा समस्या भोग्दै आएका पाँचथरका एकै परिवारका ४ बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका पाँचथरको हिलिहाङ गाउँपालिका–७ साम्मेवाका चन्द्रलाल बराइलीका चार छोराछोरी वर्सिना, करिश्मा, सन्तोष र दीपक बराइलीले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको समन्वयमा चारै जना बालबालिकालाई जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा चारै बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र बनाउन सकेका थिएनन् । जन्मदर्ता नहुँदा चन्द्रलालकी जेठी छोरी वर्सिनाले चार वर्षदेखि कक्षा दोहो¥याउँदै आएकी थिइन् । सरकारी निकाय, सङ्घ संस्था तथा स्थानीय अगुवाले बाबुुआमाको नागरिकताको प्रमाणपत्र तथा छोराछोरीको जन्मदर्ताको प्रमाणपत्रका लागि पहल गरेका थिए । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीसहित जनप्रतिनिधि तथा प्रशासकले बराइलीको घरैमा पुगेर परिवारको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
बराइली परिवारकी जेठी छोरी बर्सिना सिद्धेश्वरी माध्यमिक विद्यालय हिलिहाङमा कक्षा–८ मा पढ्छिन् । परीक्षा फारम भर्न जन्मदर्ताको प्रमाणपत्र चाहिएपछि ४ वर्षदेखि उनले परीक्षा फारम नै भर्न पाएकी थिइनन् ।