दमकः प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्नु सबैको दायित्व भएको बताएका छन् ।
दमकमा आजदेखि शुरु भएको स्थानीय तहमा विपत् सचेतना तथा अभिमुखीकरण तालीमको उद्घाटन गर्दै कार्कीले विपत् हुन सक्ने जोखिम नियन्त्रण गर्न समयमा नै उपाय अवलम्बन गर्नुपर्ने बताएका हुन् ।
विपत् व्यवस्थापन गर्न सबैको चुनौती भएको चर्चा गर्दै उनले विपत् व्यवस्थापन गर्न सबैले प्रयास गर्ने हो भने त्यसबाट हुने मानवीय तथा प्राकृतिजन्य जोखिममा कमी आउने बताए । कार्यक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले विपत्बाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न तथा त्यससम्बन्धी सचेतना दिन प्रदेश सरकारले १४ वटै जिल्लाका स्थानीय तह, रेडक्रससहित सरोकारवालासँग छलफल गरिरहेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलगायतले विपत् जोखिम न्यूनीकरण गर्न सबै क्षेत्रको साझा दायित्व हुनुपर्नेमा जोड दिएका थिए । भोलिसम्म चल्ने सो तालीममा झापा र मोरङका विभिन्न स्थानीय तह, विपत् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सङ्घ संस्थालगायतका प्रतिनिधिको सहभागिता रहेको छ ।