झापाः झापाको शिवसताक्षी–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिंह थेबेको सालिक निर्माण गरिएको छ ।
स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजङ्गा सम्मानका लागि सालिक निर्माण गरिएको बताइएको छ । १४ लाख रुपैयाँको लागतमा ५ फिट ६ इञ्चको पूर्णकदको सालिक निर्माण गरिएको सिरिजङ्गा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले बताए ।
सो सालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले १ लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट ८ लाख र स्थानीयवासीले रु ११ लाख ५० हजार गरी रु २० लाख सङ्कलन गरेको उनले बताए ।
सो सालिक सिरिजङ्गाको ३ सय १५ औँ जन्मजयन्तीका अवसरमा मंसिर २९ गते अनावरण गरिने भएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक बालकृष्ण माबुहाङले सालिक अनावरण गर्ने स्मारक निर्माण समितिका सचिव बुद्धिराज लक्सम्बाले बताए । सालिक निर्माण गरी बचत भएको रकम सालिक संरक्षण कोष स्थापना गरी राखिने भएको छ ।
मोरङको पथरीका मूर्तिकार दिलमान बेघाले बनाएको सालिक २०७४ साल चैत २४ गते शिलान्यास भएको थियो । ९ सदस्यीय सालिक निर्माण समिति गठन गरी सालिक निर्माण गरिएको थियो ।
किरात लिपिका सर्जक सिरिजङ्गालाई पश्चिम सिक्किमको मार्ताम गाउँको चिप्लेटी ढुङ्गामा आफ्ना चेलाहरूलाई लिम्बू भाषा लिपि पढाइरहेका बखत टासोङ भिक्षुहरूले समातेर रुखमा बाँधेर धुनकाणले हानेर वि.सं. १७९८ सालमा हत्या गरेका थिए ।