धनकुटाः दिनहुँ सार्वजनिक कार्यक्रमको चापले अस्तव्यस्त रहने धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित चुवाको बोट आसपासको क्षेत्र यतिबेला भने शान्तसँगै चिटिक्क सजिएको छ । धनकुटा नगरपालिकाले सो स्थानमा पार्क निर्माण गरेपछि अस्तव्यस्त रहने चोक सुन्दर र शान्त बनेको हो ।
अहिले सो स्थानमा कुनै सार्वजनिक कार्यक्रमको लागि मानिस भेला हुँदैनन् । भेला हुन्छन् त धनकुटा घुम्न आएका आगन्तुक सेल्फी खिच्न । यो स्थानमा वडा कार्यालयले करिब २२ लाख रुपैयाँको लागतमा पार्क निर्माण गरेको हो ।
फोहोरमैला व्यवस्थापनको दृष्टिकोणले धनकुटा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका हो । फोहोरमैला व्यवस्थापनमा आफूलाई सफल प्रमाणित गरी देशकै सफा नगरपालिका बनिसकेको धनकुटा नगरपालिकाको ध्यान यतिबेला भने सुन्दर पार्क निर्माण गरी सफा, सुन्दर र आकर्षक नगरपालिका बन्नतर्फ केन्द्रित छ ।
१ वर्षमा ८ वटा पार्क
धनकुटा नगरपालिकासहित वडा कार्यालयले सार्वजनिक स्थानमा धमाधम पार्क निर्माण गर्न थालेपछि बजार क्षत्रेका खाली स्थानको परिचय फेरिएको छ । बजार क्षेत्रमा मात्र १ वर्षको अन्तरालमा ८ वटा पार्क तथा फूलबारी निर्माण भएका छन् । चुवाको बोटस्थित ग्रीन पार्क र सिरान बजारमा निर्माण गरिएको शिव पार्क धनकुटा नगरपालिका मार्फत् वडाले निर्माण गरेका नमुना पार्क हुन् ।
यी दुई बाहेक घुमाउने चौतारी र मार्गा थान र परिचय मोडमा तथा नगरपालिकाको गेष्ट हाउसमुनि फूलबारी निर्माण गरिएको छ । पार्क निर्माणसँगै धनकुटाको मुहार फेरिनुको साथै पर्यटक तान्न मद्दत पुगेको स्थानीय खेम घिमिरे बताउँछन् ।
राणा कालमा पूर्वको प्रशासनिक केन्द्र हँुदै पञ्चायत र बहुदल कालमा पूर्वाञ्चलको सदरमुकामको रूपमा रहेको थियो । नयाँ संरचनाअनुसार ७ प्रदेशमा वर्गीकरण हुँदा प्रदेश १ को केन्द्र भागमा रहे पनि प्रदेश राजधानी बन्न भने सकेन । राजधानी नरहँदा तुलनात्मक रूपमा धनकुटाको चहलपहल पहिले भन्दा कम हुँदै जानु स्वाभाविकै थियो । त्यसैले मानवीय चहलपहललाई पुरानै अवस्थामा फर्काउन र हरियाली तथा सुन्दर नगरपालिकाको रूपमा विकास गर्न पार्क निर्माणलाई प्राथमिकतामा राखिएको धनकुटा नगरपालिकाकी उपमेयर शकुन्तला बस्नेत बताउँछिन् । धनकुटा नगरपालिकामा गत आर्थिक वर्षबाट मात्रै पार्क निर्माणको काम शुरु भएको भने होइन । यसअघि नै धनकुटामा पार्क निर्माणको काम शुरु भएको थियो ।
जिल्लाकै पुरानो पार्क भनेको सल्लेरी वनभित्र रहेको महेन्द्र पार्क हो । यो एक समय पूर्वमा निकै ख्याति कमाएको पार्क हो । तर, अहिले यो पार्क संरक्षणको पर्खाइमा रहेको छ । देशकै सफा नगरपालिकाको उपमा पाएको धनकुटा नगरपालिकालाई पार्क निर्माणले सफासँगै सुन्दर र आकर्षक नगरपालिकाको रूपमा परिचय थपिने गर्ने निश्चित छ । तर नयाँ पार्क निर्माणसँगै यस्ता पुराना पार्कको समेत संरक्षण गर्न आवश्यक रहेको स्थानीय बताउँछन् ।
यसबाहेक निर्माणाधीन अवस्थामा रहेको चुलीबन पार्क करिब ५ वर्ष अघिबाट नै निर्माण शुरु भएको हो । त्यस्तै, पञ्चमी पार्क, लहरे चौतारो, सेल्फी चौतारी यसअघि नै निर्माण भइसकेका छन् । यसैलाई निरन्तरता दिएको नगरपालिकाले चालु आर्थिक वर्षको लागिसमेत पार्क निर्माणमा ४७ लाख रुपैयाँ विनियोजन गरेको छ । यसले आधा दर्जनभन्दा बढी नयाँ पार्क थपिने नगरपालिकाका प्रवक्ता जमसेर राईले जानकारी दिए ।