इटहरीः जिन्दगी सबैको आफ्नै इच्छाअनुसार चल्छ । अल्छि गर्नेहरुको पनि चलेकै छ र बिहान उठेदेखि सुत्ने बेलासम्म काममै खटिरहनेहरुले पनि आखिरमा बिहान बेलुकाको दुई छाक त हो नि । भन्नेहरुले यस्तै भनिरहेका हुन्छन् । आफ्नो जिन्दगी अलगअलग पेसाबाट चलाएका इटहरीको वडा नम्बर १९ र २० मा संगठित भएका महिलाहरुले उद्यम गर्नकै लागि दिदीबहिनी समूह निर्माण गरेर उदाहरणीय कामको सुरुवात गरेका छन् ।
कुनै बेला महिलाहरुबीच समस्या परेको बेला सरसापट चलाउने भनेर स्थापना भएको दिदीबहिनी समूहमा ११० जना महिला आबद्ध भएका थिए । २०७६ सालदेखि संगठित भएका महिलाहरुले अहिले भने ७ जनाको सक्रिय लगानीमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा दिदीबहिनी सिलाइकटाइ सेन्टर खोलेका छन् भने इटहरी १९ मा रहेको भवानीपुरमा बंगुर फार्मसमेत सञ्चालन गरिरहेका छन् ।
महिलाहरु आफैँ आत्मनिर्भर हुनुपर्छ भनेर सञ्चालन गरेको सिलाइकटाइ सेन्टरले एक पटक १५ जना महिलालाई उद्यमी बन्न सिलाइकटाइ तालिम समेत सञ्चालन गरिसकेको छ । हरेक महिनाको अन्तिम शनिबार मासिक बचतको लागि भेला हुने महिलाहरुले आफ्नो घरखर्चबाट बचेको पैसालाई लगानी गरेर उद्यमी बन्ने प्रयास गरिरहेका छन् । महिलाले लगाउने कपडाहरुको सिलाइ गर्नुका साथै दिदीबहिनी सिलाइकटाइ सेन्टरले सपिङ्ग ब्याग, पेन्सिल पर्स, कस्टमेटिक पर्स, क्याल्कुलेटर पर्स, गृहिणी महिलाहरुको लागि एप्रोन, मासु काट्दा प्रयोग हुने एप्रोन तथा महिलाहरुले लगाउने वान पिस लगायतका कपडाहरु सिलाइ गर्छन् भने आफ्नै चिनजान र मातहतमा बिक्रीसमेत गर्ने गरेका छन् ।
७ जनाको सक्रिय लगानीमा सञ्चालन भइरहेको दिदीबहिनी समूहको अध्यक्षता गोमा सिंहले गरेकी छन् भने लीलादेवी राई सँस्थाकी सचिव छिन् । समूहका अन्य सदस्यहरुमा इन्दिरा गुरुङ्ग, मनकुमारी राई, समति राई , कौशिला गुरुङ्ग र मिला राई छन् । दिदीबहिनी समूहका सातै जना महिलाहरु कुनै न कुनै पेसा व्यवसायमा रहेपछि सिलाइकटाइ सेन्टरमा केही समय निकालेर हरेक दिन भेला हुने र आफूले जाने अनुसारको सीपको काम गर्ने गरेको समूहकी सचिव लीलादेवी राईले बताइन् ।
महिलाहरु चुलोचौकोमा मात्र सीमित हुनु हुँदैन । सानोतिनो रोजगारीमा संलग्न हुनुका साथै आफूहरुको माध्यमबाट अन्य महिलाहरुलाई समेत रोजगारीको सिर्जना गरेको दिदीबहिनी समूहको भनाइ छ । अहिले उनीहरुको सिलाइकटाइ सेन्टरमा सीप सिकेका २ जना महिलाहरु नियमित रुपमा रोजगार भएका छन् । आफूहरुले महिलाले लगाउने वान पिसमा गोटाको २ सय रुपैयाँ दिने र समूहकै साथीहरुले पनि काम गरेको खण्डमा गोटाको हिसाबले परिश्रमको ज्याला छुट्टाएको लीलादेवीले बताइन् ।
७ जना महिलाहरुको लगानीमा सगरमाथा पशुपालन तथा कृषि फार्मसमेत दर्ता भई सञ्चालित छ । कृषि फार्मको क्षेत्राअधिकारभित्र पर्ने तरकारी खेति, पशुपालन, बाख्रापालन, राँगा तथा भैँसीपालन समेत गर्ने उद्देश्य लिएर फार्म दर्ता गरिएको सँस्थाकी अध्यक्ष गोमा सिंह बताउँछिन् ।
दिदीबहिनीहरुले सञ्चालन गरेको कृषि फार्ममा १७ वटा बंगुर हालिएकोमा अहिले पनि १५ वटा बंगुर छन् । अरुलाई बेच्नुभन्दा आफूहरुले नै काटेर मासु बेच्दा फाइदा हुने भएकाले २ वटा बंगुर आफूहरुले नै काटेर बेचेको उनीहरुले सुनाए । बंगुर फार्ममा र सिलाइकटाइ सेन्टरमा सबै सातै जनाले दामासाही लगानी गर्ने गरेका छन् । कहिलेकाहीँ अचानक केही चाहिएमा मिलेर थप लगानी उठाउने गरेको सँस्थाकी सदस्य समति राईले प्रदेश पोर्टललाई बताइन् ।
आफू पनि स्वरोजगार हुने र बेरोजगारहरुलाई रोजगार बनाउने हिसाबले महिलालाई नै लक्षित गरेर खोलिएको दिदीबहिनी सिलाइकटाइ सेन्टर आफूहरुको दुःखसुख साट्ने माध्यम बनेको लीलादेवीले सुनाइन । पुस्तक पसल सञ्चालन गरेर बसेकी लीला सीप सिकेपछि अहिले ५५ वर्षको उमेरमा पनि कैँची समातेर झोला, एप्रोन तथा महिलाले लगाउने वान पिस कपडाको को लागि कपडा काट्न सक्ने भएकी छन् । समूहले उत्पादन गरेका ब्याग लगायतका सामान निकट भविष्यमा बजारीकरणको योजना बनाएर अगाडि बढ्ने लीलाले सुनाइन । त्यति मात्र नभएर कृषि फार्मलाई पनि व्यवस्थित बनाउँदै अघि बढ्ने उनीहरुको योजना रहेछ ।