झापाः झापाको गौरादह नगरपालिकाको वडा नम्बर ९ बैगुनधुरामा प्रहरी चौकी स्थापना गर्नको लागि स्थानीय समाजसेवी टेकनाथ दाहालले ५ कठ्ठा जग्गा निःशुल्क दिने भएका छन् ।
बैगुनधुरामा प्रहरी कार्यालय स्थापना गर्न गत असार १० गते वडा परिषदले निर्णय गरेको थियो । त्यस्तै, नगरसभाबाट पनि पारित भई प्रदेशस्तरीय योजनाको २ सय ८ नम्बर बुँदामा चौकी निर्माणको बुँदा उल्लेख भएको नगरपालिकाले जनाएको छ ।
१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको विशेष पहलमा प्रहरी चौकीको स्थापना गर्ने पहलकदमी भइरहेको बताइएको छ । चौकीको लागि दिइएको जग्गा छुट्याउने काम भइसकेको वडाध्यक्ष सीताराम भट्टराईले बताएका छन् । अब प्रहरी चौकी बैगुनधुराको नाममा जग्गा पास गर्न बाटो खुलेको वडा कार्यालयले जनाएको छ ।