झापाः प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीले समाजवादी अर्थतन्त्र विकासमा खेलेको भूमिका प्रशंसा गर्न योग्य रहेको बताएका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको २६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आङ्बोले उक्त कुरा बताएका हुन् । साधारणसभाको उद्घाटन गर्दै तीनखम्बे अर्थतन्त्रलाई सरकारले अङ्गीकर गरेको प्रष्ट पार्दै मन्त्री आङ्बोले सहकारीलाई उत्पादनसँग जोड्न सुझाव दिँदैं उत्पादनसँग सहकारीलाई जोड्ने कुरामा सरकारको पूर्ण सहयोग हुने बताए ।

तीन खम्बे अर्थनीतिबाट सरकार विचलित नभएको र रोजगारको अवसर खोज्दै विदेशिएका युवालाई स्वदेश फर्काउनु आजको सरकारको मुख्यः दायित्व भएको मन्त्री आङ्बोको भनाइ थियो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादनमूलक व्यवसाय गरेको र अन्य संस्थाले पनि यसको सिको गर्नुपर्ने उनले बताए ।
केही केही राजनीतिक कारणले नेपालको अर्थतन्त्र सन्तुलनमा आउन नसकेको भन्दै उनले राजनीतिक कारणले देशको अर्थतन्त्र सुध्रिन सक्ने भएकाले अब राजनीतिक दल देशलाई आर्थिक रुपमा मजबुत बनाउन एक ठाउँमा उभिनुपर्ने बताए ।

अबको युग आर्थिक क्रान्तिको
अबको युग आर्थिक क्रान्तिको भएको भन्दै उनले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए । अहिले पनि नेपाली किसान ३ हजार वर्ष पुरानो प्रविधिमा रहेको र त्यसको अन्त्य गरेर कृषिलाई प्रविधि मैत्री बनाएर निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषिमा फड्को मार्नुपर्ने र कृषिको परनिर्भर अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । नेपाली कृषि वस्तुको निर्यातमा जोड दिँदै अलैची, अदुवा चियालगायतका नगदेबालीको निर्यातमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्र बलियो बनाउन सहकारीको साथ सहयोग चाहिने भएकाले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाको नेतृत्वमा प्रदेश सरकारको लगानीमा धुलो दूध उद्योग खोल्ने योजना रहेको उनले प्रष्ट पारे ।

१ वर्षमा ११ हजार नयाँ सदस्य
संस्थाले सदस्य बन्ने र कारोवारमा संलग्न हुने सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा मात्रै ११ हजार ९६ जना नयाँ सदस्य थपिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको अन्त्य सम्ममा संस्थाको शेयरपूँजी ५२ करोड २ लाख ४८ हजार ९ सय रुपैयाँ र निक्षेप ४ अर्ब ५७ करोड ८७ हजार १ सय १३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ५ अर्ब ८१ लाख ३ हजार १ सय ८१ रुपैयाँ संस्थाको लगानी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

५६ पिन्ट रगत संकलन
संस्थाको स्वास्थ्य समितिले रजत महोत्सव तथा २६ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ८ महिला र ४८ पुरुषले रक्तदान गरेको समितिका संयोजक दीलिप सुवेदीले बताए ।