इटहरीः कालोपत्रे भएको एक हप्तामै उक्किएको सडकको कालोपत्रे टालेर रकम बुझ्ने प्रक्रिया शुरु भएको छ । यही मंसिर १३ गते कालोपत्रे गरेर काम सकिएको इटहरी उपमहानगरपालिका वडा नं २ को पासाङ मार्गको काम टालटुले पारामा सकिएको थियो ।
‘आर वान कन्ट्रक्सन’ले ठेक्का पारेको सो बाटो गुणस्तरहीन रहेको पाइएको छ । काम कमसल भएको विषयमा तीव्र विरोध भएपछि सडकको कालोपत्रे उक्किएको ठाउँमा टाल्ने काम भएको छ । ठेकेदार कृष्ण खड्काले कामको जिम्मा लिएर सो कम्पनीलाई कामको जिम्मा लगाएका थिए । तर कालोपत्रे बन्न नपाई उक्किएको गुनासो आएपछि पुनः सडक टाल्ने काम भएको छ । १३ लाख ९४ हजार ३ सय ६० रुपैयाँमा कालोपत्रे भएको उक्त सडक निर्माण कम्पनीले नगरपालिकालाई जिम्मा लगाउने तयारी थालेको छ ।
इटहरी उपमहानगरपालिकाका सब इञ्जिनियर अर्पण लिम्बूले ३ दिनअघि सो सडक निर्माण कम्पनीले सम्पन्न भएको भनेर जानकारी गराइसकेको तर उपमेयरको कार्य व्यस्तताका कारण अनुगमन हुन नसकेको बताएका थिए । अहिले पनि उक्त सडकको विषयमा गुनासो आइरहेपछि ठेकेदारले बाटो पुनः बनाउने बताइरहेका छन् ।
उता उपमेयर लक्ष्मी गौतम भने अनुगमनपछि ल्याब टेस्ट नगरी कुनै पनि प्रक्रिया अगाडि नबढ्ने बताउँछिन् । ‘केही दिन अगाडि नै त्यो पासाङ मार्ग कमजोर बन्यो भन्ने सुनेको छु तर त्यसको अनुगमन गर्न भ्याएको छैन’, उनले बताइन् । कमसल सामान प्रयोग गरेर सडक निर्माण गरेको पाइए रकम भुक्तानी नै नदिने उनले बताइन् ।
ठेकेदार खड्का भने बिग्रिएको ठाउँमा बाटो टालेरै काम चलाउन सकिने बताउँछन् । तर, खड्काले भनेजस्तो सामान्य टालटुल गरेर बाटो पक्का बनाउन सकिने अवस्था नभएको स्थानीय बताउँछन् । हातले कोट्याउँदा समेत उक्किने, बाइकको स्टेनले भत्किने र हिँड्दा पिच गरेको सिलिकन उक्किने सो सडक टालटुल गरेर नहुने स्थानीय टङ्क दाहाल बताउँछन् । सडकमा कमसल सामग्री प्रयोग भइरहेको विषयमा आफूले नगरपालिकालाई तत्काल जानकारी गराए पनि केही सुनुवाइ नभएको उनको भनाइ छ । अहिले फेरि बाटो टालेर जनताका आँखामा छारो हाल्ने काम गरेको उनी बताउँछन् ।