इटहरीः नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रदेश १ मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताएका छन् ।

इटहरीमा रहेको होटल उत्सवको उद्घाटन गर्ने क्रममा उनले प्रदेश १ पर्यटनको केन्द्र भएकाले अन्तर्राष्ट्रिय पर्यटकलाई सहज बनाउन पनि अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताएका हुन् ।

देश अब क्रमश स्थायित्वतिर गएकाले आर्थिक विकासमा नयाँपन ल्याउनुपर्ने उनको भनाइ थियो । देशमा लगानीको वातावरण बनेको र समृद्धिको मार्गमा देश हिँड्न थालेको पनि उनले बताए ।

इटहरी प्रदेश १को राजधानी नबने पनि यो कुनै हिसाबमा कम नभएको भन्दै ताप्लेजुङदेखि सोलु सम्मका नागरिकले अपनत्व गर्ने सक्ने शहर इटहरी भएकाले आर्थिक विकासका लागि सबैभन्दा धेरै सम्भावना बोकेको शहर भएको उनले बताए । होटल र रेष्टुरेन्ट व्यवसायबाट इटहरीको पर्यटन प्रवद्र्धन मा सहयोग पुगेको उनको भनाइ थियो । विराटनगरदेखि धरानसम्मको भूभाग समेटेर महानगर बनाउन सकिने पनि उनले बताए ।

प्रदेश १ मा पर्यटन जलविद्युत र कृषिमा लगानी गर्ने वातावरण भएको भन्दै पर्यटक आउनु मात्रै महत्वपूर्ण नभई पर्यटकले कुन क्षेत्र घुमे भन्ने महत्वपूर्ण भएको उनले बताए ।

२ वर्षभित्रमा पाथीभरामा केवलकार
आगामी २ वर्षमा ताप्लेजुङको पाथीभरामा केवलकार सञ्चालन हुने उनले बताए । अब पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको समय शुरु भएको उनले कार्यक्रममा बताए ।