इटहरीः इटहरी उपमहानगरपालिकाकाले डिभिएम स्कुल र क्रिकेट खेलाडीसँग वार्ता गर्न समिति गठन गरेको छ । विद्यालयसँग वार्ता गर्नका लागि वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र बरालको संयोजकत्वमा समिति बनाइएको हो । त्यसैगरी खेलाडीसँग वार्ता गर्न विश्वराज धिमालको संयोजकत्वमा समिति बनाइएको छ । उनी कार्यपालिका सदस्य हुन् ।

सार्वजनिक जमिन मिचेर विद्यालयका लागि अवैध तरिकाले संरचना बनाएको विषयमा इटहरी सरकारले बारम्बार जग्गा फिर्ता गर्न डिभिएम स्कुललाई पत्राचार गरेको जनाएको छ । तर, विद्यालय पक्षले अटेर गरेपछि मेयर चौधरीले मंसिर २० गते विद्यालय प्राङगणमा जनता पार्कको शिलान्यास गराएका थिए ।

१ सय १ वर्षीय भानुभक्त लम्साललाई धुपीको बिरुवा रोप्न लगाई विद्यालयले ओगटेको जमिन इटहरी सरकारले फिर्ता लिएको सन्देश दिएका थिए । विद्यालयले आफ्नो नाममा रहेको करिब ६ कठ्ठा जमिनमा भवन नबनाएर सार्वजनिक जग्गामा नगरपालिकाको नक्सापासबिनै संरचना बनाएको बारेमा विवाद कायम नै थियो ।

अब विद्यालयसँग के गर्ने भन्ने बारे उपाय खोज्न पनि वार्ता समितिको आवश्यकता रहेको थियो । मेयर द्वारिकलाल चौधरीका अनुसार अब उक्त ससितिले दुवै पक्षको समस्या समाधानका लागि पहल गर्नेछ ।

त्यस्तै, क्रिकेट खेलाडीसँगको वार्तामा भने डिभिएम स्कुलको खेलमैदानमा भइरहने क्रिकेट खेल प्रभावित नगर्ने बारे सहमति गर्ने तयारी रहेको छ । मंसिर २० गते जनता पार्कको शिलान्यास समारोहमा पनि उपमहानगरापलिकाको तर्फबाट अर्को विकल्प नहुन्जेलका लागि खेलाडीलाई खेलमा प्रभावित हुने काम नगर्ने र फिल्डमा कुनै संरचना नबनाइने प्रतिबद्धता जनाइएको थियो ।