धरानः धरान–५ सुन्दर बस्ती नजिकै सेउती खोला बगरमा अवैध रूपमा बनेका घरटहरा उपमहानगरपालिका र वन कार्यालयले भत्काएको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाका अनुसार सवडिभिजन वन कार्यालय र उपमहानगरको नगर प्रहरी टोलीले तीन वटा घरटहरा भत्काएको हो । घरटहरा भत्काएर सार्वजनिक तथा वनको स्वामित्वमा रहेको जग्गा खाली गराइएको प्रमुख कोइरालाले जानकारी दिए ।

सार्वजनिक जग्गामा आफूखुसी घरटहरा खडा गर्ने कार्य गैरकानूनी भएको उल्लेख गर्दै उनले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई स्थानीय सरकारले कानूनबमोजिम कारबाही गर्ने स्पष्ट पारे ।