विराटनगरः मोरङको कटहरी गाउँपालिका–१ मा सुविधायुक्त तरकारी तथा फलफूल थोक बजारको निर्माण सम्पन्न भएको छ । तरकारी तथा फलफूलको एकीकृत व्यवस्थापनका लागि निर्माण भएको थोक बजार सञ्चालन प्रक्रियाको तयारी थालिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजनाले ५ बिघा, २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार रुपैयाँको लागतमा थोक बजारको निर्माण गरेको हो । निर्माणका सबै प्रक्रिया सकिएर बजार सञ्चालनमा ल्याउने तयारी अन्तर्गत सफाइको काम भइरहेको ठेकेदार कम्पनी रमन–लामा जेभी कन्स्ट्रक्सनका प्रतिनिधि शुभम् बोहराले जनाए ।

सोे थोक बजार प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइएको छ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवका अनुसार बजार सञ्चालनको विधिका विषयमा छलफल भइरहेको छ । ‘मंसिर २६ गते उद्घाटनसँगै प्रदेश मन्त्रालयमा हस्तान्तरण हुने थोक बजार कृषि बजार सञ्चालन निर्देशिका २०७३ अनुसार हुन्छ’, प्रवक्ता यादवले भने, ‘बजार निर्माणको सम्झौताका शर्तहरू पनि यसमा जोडिएका छन् ।’

बजार सञ्चालनमा ५ पक्षको सम्झौता
सो थोक बजार सञ्चालनको लागि विभिन्न ५ पक्षबीच सम्झौता भएको छ । स्थानीय जनप्रिय माध्यमिक विद्यालयको जग्गालाई ५० वर्षका लागि भाडामा लिएर बजार निर्माण गरिएको हो । सम्झौता अनुसार बजारबाट आउने आम्दानी थोक बजार समिति, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र विद्यालयबीच बाँडफाँड हुने उल्लेख छ ।

विराटनगर महानगरपालिकाको तरकारी तथा फलफूल थोक बजार विस्थापित गरेर सो बजारमा लैजानका लागि बजारको निर्माण गरिएको हो । विराटनगरसँगै जोडिएको तत्कालीन कटहरी–५ (हाल कटहरी गाउँपालिका–१) मा बजार निर्माण भएको हो । तरकारी बजारमै प्रदेश सरकारले दु्रततर विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापनाको काम समेत अगाडि बढाएको छ । गत आर्थिक वर्षमा नै उपकरण खरिदका लागि रकम निकासा गरिएकाले महानगरमार्फत् प्रयोगशालामा प्राविधिक राखिने प्रवक्ता यादवले बताए ।

बजार समितिले तरकारीको मूल्य निर्धारण गर्ने र निर्धारित मूल्यका आधारमा तरकारीको खरिद बिक्री हुने हुँदा उत्पादक किसान बढी लाभान्वित हुने दाबी गरिएको छ । बजार सञ्चालनमा आएसँगै ४४ हजार ९ सय टन तरकारी र ८ हजार ७ सय टन फलफूल बजारबाट बिक्री गरिने लक्ष्य राखिएको बताइएको छ ।

सरकारकै मातहतमा रहेको समिति बन्ने भएपछि तरकारीमा बिचौलिया हट्ने आशा समेत गरिएको छ । तरकारी तथा फलफूलको थोक बजार परिसरमा ३ तलाको प्रशासनिक भवन, व्यवस्थापक आवास, सुरक्षा आवास, कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेनागृह, बैंक शाखा भवन रहने भएका छन् ।

यसैगरी, तरकारी बोकेका गाडी तौल गर्ने मेसिन, फोहोर सङ्कलन यार्ड, लोड अनलोड क्षेत्र र गाडी पार्किङको व्यवस्था समेत रहेको बताइएको छ ।

स्थानीयद्वारा बजार सञ्चालनमा आफ्नो सहभागिता माग
कटहरी गाउँपालिका–१ का स्थानीयले बजार सञ्चालनमा आएसँगै स्थानीयलाई रोजगारीसहित सञ्चालनमा सहभागिता गराउनुपर्ने माग गरेका छन् । तरकारी बजार सञ्चालनमा आएसँगै सडकको स्तरोन्नति, ढल निकास, फोहोर व्यवस्थापन, बजार सञ्चालक समितिमा स्थानीय सहभागिता लगायतको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञानपपत्र बुझाइएको स्थानीय देवराज चौधरीले बताए ।