शेरबहादुर परियार

युरोपः ’केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्’ यसको पर्याय बनेका छन् पोल्याण्डका टंक कटुवाल । कटुवालले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आपतकालीन कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय कमिटीका सदस्य कटुवालले नेपाल पत्रकार महासंघ युरोप शाखामार्फत् पत्रकार महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुको राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुनेगरी १ लाख रूपैयाँ प्रदान गरेका हुन् ।

पोल्याण्डमा विगत १६ वर्षदेखि बस्दै आएका कटुवालको नेपालमा पुर्ख्यौली घर ताप्लेजुङ बजार हो । पोल्याण्डका सफल रेष्टुरेण्ट व्यवसायी उनी एनआरएनए पोल्याण्डका सल्लाहकार तथा नेपाली व्यवसायी संघ पोल्याण्डलगायत विभिन्न संघ संस्थाहरूमा आबद्ध छन् ।

 ’विश्व कोभिड लगायतको कारण आर्थिक मन्दीको अवस्थामा छ तर पत्रकारहरु पहिलो पङ्क्तिमा रहेर सूचना सम्प्रेषण गरिरहेका छन् । पत्रकार महासंघ युरोप शाखाको कामलाई मैले नजिकबाट हेरिरहेको छु ।युरोपको व्यस्त जीवनशैलीका बाबजुद महासंघको क्रियाशीलताबाट आफू प्रभावित भएर सहयोग गर्ने भावना जागेको हो । पत्रकार महासंघ युरोपले गरेका कामहरूको अगाडि यो सहयोगको तुलना हुनै सक्दैन । समाजप्रति हामी व्यवसायीले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने र यो अभियान पत्रकारको मात्र होइन हामी नागरिक समाजको पनि हो भन्ने अभिप्रायले रकम हस्तान्तरण गरेको छु ।’ कटुवालले भने ।

‘अन्य युरोपेली मुलुकहरुको तुलनामा पोल्याण्डमा रहेका नेपालीको आय आनुपातिक रुपमा कम रहेको छ । यद्धपि सहयोग गर्नका लागि आयभन्दा ठूलो मन चाहिन्छ भन्ने कुरा पोल्याण्डका साथीहरुले प्रमाणित गरिदिनुभएको छ । सहयोगी मन र हातहरुलाई पत्रकार महासंघ युरोप शाखामार्फत् नेपालका १९ हजार बढी श्रमजीवी पत्रकारहरुको तर्फबाट उच्च सम्मान रहेको छ ।’ नेपाल पत्रकार महासंघ यूरोपका अध्यक्ष प्रेम परियारले भने । अध्यक्ष परियार युरोपमा रहेका नेपाली समुदायका अगुवा, नेपाली संघसँस्था सबैलाई पत्रकार महासंघको यो अभियानलाई  यथासक्य सहयोग गर्न अनुरोध गर्छन् । 

पोल्याण्डबाट यसअघि नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव शेरबहादुर परियारले १ लाख ११ हजार १ सय ११ र एनआरएनए पोल्याण्डका पूर्वअध्यक्ष  नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ तथा नेपाली व्यवसायी संघ पोल्याण्डका अध्यक्ष डा उदयदेव आचार्यले ५५ हजार ५ सय ५५ रुपैयाँ कोषमा सहयोग गरेका थिए । 

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि आपतकालीन कोषको लागि महासंघको तर्फबाट ३० लाख जम्मा गरेर सुरुवात गरेको कोष कम्तिमा १ करोडको बनाइने बताइएको छ ।कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने उद्देश्य छ ।

पछिल्लो समय नेपालमा पत्रकारहरुले कोभिड – १९ सङ्क्रमणका कारण जागिर गुमाउनु परेको, बेतलबी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेकाजस्ता कारणले जीवनयापनमै समस्या उत्पन्न भएको छ । यसैगरी, गम्भीर बिरामी रहेका पत्रकारको उपचारका लागि पनि आर्थिक अभाव देखिएको छ ।