धरान: धरान उपमहानगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल आजदेखि हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे कात्तिक १२ गते वैदेशिक रोजगार विभागमा सरुवा भई गएपछि धरानमा प्रमुख प्रशासकीय अधिकृतको पद खालि रहेको थियो । उपमहानगरपालिकामा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने भए पनि मन्त्रालयले उपसचिव विनोद पोखरेललाई निमित्त प्रशासकीय अधिकृत बनाएर पठाएको छ ।
पोखरेल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सरुवा भई आएका हुन् । सोमबारबाट उपमहानगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जनताका काम कानुनसम्मत हिसाबले सम्पादन हुनुपर्ने बताएका छन् ।
उनले सोमबार नै उपमहानगरपालिकाका महाशाखा तथा शाखा प्रमुखसँग छलफल गरी हालसम्म भए गरेका कामको जानकारी लिएका थिए । उनले उपमहानगरपालिकाबाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन महाशाखा तथा शाखा प्रमुखलाई निर्देशन पनि दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत आएपछि उपमहानगरपालिकाका रोकिएका प्रशासनिक काम नियमित हुन थालेका छन् ।