इटहरीः विराटनगर महानगर र इटहरी उपहानगरको बीचमा पर्छ सुन्दरहरंैचा नगरपालिका । १३ किलोमिटर पूर्वपश्चिम राजमार्ग क्षेत्र पर्ने उक्त नगरपालिकाका मेयर हुन् शिव प्रसाद ढकाल ।

आफ्नो नगरको नाम अनुसारको काम गर्न नसकेकोमा उनी दुःखी छन् । तर अझै ४ वर्ष कार्यकाल बाँकी रहेकाले केही योजना पूरा गर्ने वाचा गर्छन् उनी । भन्छन् ,‘एक वर्षको कार्यकालमा जग हाल्ने काम भएको छ । अब जनताले देखिने गरी काम गरिन्छ ।’
आफ्नो कार्यकालको समीक्षा गर्दै उनले आफू ‘मेयरको लागि मेयर’ मात्र नहुने सङ्कल्प गर्छन् । ८४ वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिकलाई घरैमा उपचार गरिरहेको र आगामी वर्ष भित्रमा ५ स्थानमा ज्येष्ठ नागरिक भवन बनाउने उनको भनाइ छ । नगरमाता नगरपिता कार्यक्रममार्फत् ज्येष्ठ नागरिकको सम्मान गरेको उनको भनाइ छ ।

47576272_975080689353528_6513595196062564352_n

निकासा भएको आधा घण्टा भित्रमा घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने काम भइरहेको उनी सुनाउँछन् । कतिपय अवस्थामा वडाध्यक्ष र कर्मचारीबचिको बुझाइको कमका कारण धेरै काम गर्न नसकेको दुखेसो पनि गर्छन् उनी ।
‘हाइवे क्लियर’ गर्ने योजना अन्तर्गत काम भइरहेको उनी बताउँछन् । राजमार्गका ग्यारेज, वर्कशप र पेय पदार्थका उद्योग हटाउने काम धमाधम भइरहेको उनको भनाइ छ । यस्ता उद्योगले राजमार्ग फोहोर बनाउने देखि केमिकल तथा विषादीले प्रदूषण फैलाउने गरेको उनी बताउँछन् ।

बालबालिकाको स्वास्थ्यमा खेलबाड गरिरहेकाले कम्तीमा राजमार्ग भन्दा भित्र यस्ता उद्योग लैजान पाइयो भने त्यसको प्रभाव कम हुने उनको बुझाइ छ । प्रदेश सरकारको सहयोगमा ट्राफिक लाइटका साथै ५ स्थानमा आकाशे पुल बनाउने र वल्र्ड बैंकको २ अर्बको सहयोगमा ४० किलोमिटर बाटो कालोपत्रे गरिने उनको भनाइ छ । ५ वटा सरकारी विद्यालयमा ध्वनिको माध्यमबाट पढाउने मिदासी क्लास शुरु भएको उनले बताए ।

सुन्दरहरैंचा कृषि तथा पर्यटनको हब बन्न सक्ने भन्दै उनले कृषि र पर्यटनमा खुलेर लगानी गर्ने बताए । पाँच माउ गाई, पाँच माउ भैंसी र पाँच वटा बाख्रा पाल्नेको लागि २५ प्रतिशत अनुदान दिइरहेको उनी सुनाउँछन् । माछा पालक किसानको लागि प्रतिकठ्ठा २ हजार रुपैयाँ दिने पनि उनले सुनाए । गाईभैंसीको कृत्रिम गर्भाधान गर्दा ५० प्रतिशत अनुदान दिने र ‘मिल्क होलिडे’लाई मध्यनजर गर्दै १ हजार लिटरभन्दा बढी दूध सङ्कलन हुने हरेक स्थानमा चिस्यान केन्द्र स्थापना गर्ने योेजना रहेको उनले बताए ।

पर्यटन वृत्तचित्र बनाएर पर्यटनको गुरुयोजना सार्वजनिक गर्ने ध्याउन्नमा लागेका छन् उनी । भोट दिएका जनतासँग भेट्ने घरदैलो कार्यक्रम अन्तर्गत ‘जनतासँग मेयर’ कार्यक्रम गर्ने उनको योजना छ । सुन्दरहरैंचाको नामसँग मेल खाने नगरपालिका बनाउने ध्याउन्नमा लागेका ढकालले ‘हामी बनाउँछौ नमूना नगर’ नामको टिम बनाएर काम गर्ने योजना सुनाए ।