इटहरी / प्रदेश १ को प्रसिद्ध प्राकृतिक तथा धार्मिक पर्यटकीय नगरी बराहक्षेत्रले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभाले ल्याएका कार्यक्रममा पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आफ्ना नीति तथा कार्यक्रमसँगै बजेट ल्याएको नगरले उत्कृष्ठ कृषकलाइ सम्मान कार्यक्रम देखि मिचिएका विभिन्न सार्वजनिक तथा ऐलानी जग्गा नगरको स्वामित्वमा ल्याउने कार्यक्रमहरु सार्वजनिक भएका छन ।
पर्यटकिय नगरि बराहक्षेत्रले धार्मिक तथा प्राकृतिक पर्यटनका क्षेत्रका विभिन्न कार्यक्रमहरू प्राथामिकताका साथ ल्याएको छ । जस अनुसार नगरपालिकाको औलिया बाबा, बराहक्षेत्र मन्दिर क्षेत्रको ५ सय मिटर वरपर सम्म मदिरा तथा मासु बेचबिखन तथा सेवन गर्न गराउन निषेध गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । वराहक्षेत्र मन्दिर परिसरमा आगामी आर्थिक बर्षमै सिसि क्यामरा र निःशुल्क वाइफाइ जडान गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
वराहक्षेत्र नगरपालिका क्षेत्रमा रहेको सर्यकुन्डमा भ्यू टावर निर्माण गर्ने, कोसी नदीमा जलविहारको प्रयोग गरेर जल पर्यटनको विकासलाई प्रोत्साहन गरिने कार्यक्रम पनि नगरले सार्वजनिक गरेको छ ।
नगरमा रहेका विभिन्न जातजाति र भाषाभाषीहरूको पहिचान झल्किने कला, संस्कृति, सिप र सामाग्रीहरूको खोज संरक्षण गर्ने कार्यक्रमहरू पनि सार्वजनिक गरिएको छ । जस अन्तर्गत नगरको मधुवनमा निर्माणाधिन माझी संग्रहालय भवन र वडा ८ को साकेला शिव पार्कका लागि आवश्यक बजेट नगरले छुट्याएको बताएको छ ।
धार्मिक तथा प्राकृतिक पर्यटनसँगै प्याराग्याइडिङ, बन्जि जम्पिङ र ¥याफ्टिङ क्षेत्रको सभ्याव्यता र विकासका कार्यक्रम गर्ने नगरले नीति ल्याएको छ ।

६४ करोड बढिको वार्षिक योजना ल्याउदै नगर
वराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख निलम खनालले वराहक्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने बताएका छन् । सरकारबाट प्राप्त हुने विभिन्न अनुदाको अधिकतम परिचालन गर्दै नगरभित्र स्रोतसाधन, राजश्वको पहिचान र परिचानल गरी नगरको आर्थिक समृद्धि हासिल गरिने उद्घघोष गरे ।
नगर प्रमुख खनालले सार्वजनिक, निजी सरकारी क्षेत्रहरूलाई प्रेरित गर्दै भौतिक तथा सामाजिक पूर्वाधार तयार गर्दै समुन्नति, स्वाधीन, समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा नगर अघि बढ्ने बताए । प्रमुख खनालले दिगो असन्तुलित र रोजगार प्रवर्द्धन गर्ने किसिमका सीप विकास आयोजना कार्यान्वयन गरिने बताए ।
नगरप्रमुख खनालले वराहक्षेत्र नगरपालिकाको बजेटका प्राथमिकता प्रस्तुत गर्दै नगरको आर्थिक वृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलश्रोत, उद्योगलगायतका क्षेत्रमा पुँजी विकास र परिचालन गर्ने बताए । नगर प्रमुख खनालले प्राकृतिक प्रकोपको न्यूनीकरण र पर्यावरणीय संरक्षणमा जोड दिइएको बताए ।
वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि ६४ करोड ३१ लाख २८ हजार ८ सय ७ रुपैयाँको वार्षिक योजना सार्वजनिक गरेको छ । ३ करोड ७७ लाख १५ हजार अनुमानित आन्तरिक आय भएको नगरले सशःत्र अनुदान वाषत २६ रोड २३ लाख प्राप्त गरेको छ भने समानीकरण अनुदान १९ करोड २१ लाख प्राप्त गरेको छ ।
राजश्व बाँडफाँडअन्तर्गत सङ्घीय सरकारबाट १२ करोड ७७ लाख १६ हजार विनियोजित भएको छ भने प्रदेशबाट ४६ लाख ४६ हजार छ । नगरले गैरसरकारी संस्थासँगको सहकार्यमा ८२ लाख १ हजार ८ सय ७ रुपैयाँको बजेटमा वार्षिक योजना तयार गरेको छ ।
नगरले आगामी आवका लागि १५ करोड ३३ लाख १६ हजारको पुँजीगत तर्फको एकीकृत बजेट प्रस्तुत गरेको छ । वडा कार्यालयतर्फ ७ करोड ९२ लाखको पुँजीगत कार्यक्रमको एकीकृत बजेट प्रस्तुत गरेको छ ।
नगरवासीका आकांक्षाहरु पूरा गर्न चुनौतीः मेयर
नगरद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा नगरवासीका असीमित चाहना र आकांक्षालाई असन्तुलित रूपमा सम्बोधन गर्न नसकेकोमा नगर प्रमुख निलम खनालले बताए । उनले कोसी बाढी पीडितको क्षतिपूर्ति दिलाउन र तिनको बसोबास व्यवस्थित गर्न नसकिएको उल्लेख गरे ।
स्थानीय तहको सहभागितात्मक योजना तर्जुमा प्रक्रियाको विषयमा तल्लो तहसम्म प्रभावकारी तवले जानकारी पु¥याउन नसकिएको, विकास गतिविधिमा संलग्न निकायबिच प्रभावकारी समन्वय हुन नसकेको, आन्तरिक स्रोत वृद्धि हुन नसकेको साथै कर दस्तुर र शुल्क न्यून राख्नु परेकोलगायतका चुनौती नगरसामु रहेको प्रमुख खनालले बताए । उनले स्थानीय तह सञ्चालनका लागि आवश्यक ऐन, नियम र नीतिको अभाव भएकाले पनि नगरको काम कारबाही अघि बढाउन चुनौती रहेको उल्लेख गरे ।