कास्कीः पोखरा महानगरपालिका–६, डिहिकोपाटन पँधेरोमा आज बिहान पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन् ।

अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

sushma add.

उनका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ ।

kasturi add.

घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रनाउ तिवारीले जानकारी दिए ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि वर्षा भइरहेको छ । -रासस